लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवल नारायणगढ सडक : अब रातको समयमा निर्माण निरन्तर

tillotmacitynews - 2023 Dec 29 04:42 PM
IMG

तिलोत्तमा सिटी,२०८० पुष १३ गते । बुटवल नारायणगढ सडक निर्माणको काम अब रातको समयमा हुने भएको छ।आज जिल्ला प्रशासन कार्यालयमा ठेकेदार पक्षसँगको छलफलमा अब रातको समयमा पनि सडक निर्माणको काम गर्ने निर्णय भएको प्रमुुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताउनुभयो। छलफलमा ठेकेदार पक्षका इन्जिनियर राकेश झाले अब आयोजनाको निर्माण कार्य २४ सै घण्टा गरिने र समयमै निर्माण सम्पन्न गर्न चिनियाँ ठेकेदार पनि चिन्तित रहेको बताउनुुभयो।यो आयोजनाको हालसम्म ४३ दशमलव ८६ प्रतिशत काम सकिएको र अब द्रुतगतिमा निर्माणको काम अगाडि बढाइने जिल्ला प्रशासन कार्यालयमा बसेको ठेकेदार पक्षसँगको छलफलमा सहमति भएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताउनुुभयो।


यसअघि जिल्लाका राजनीतिक दलले समेत सो सडकको निर्माण भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका थिए।राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नारायणगढ बुटवल सडक खण्डको निर्माण सुरु भएको पाँच वर्ष बित्न लाग्यो तर ३६ महिनामा सक्ने गरेर काम लिएको ठेकेदार कम्पनीले अहिले ६० महिना पुग्न लाग्दा पनि काममा तीब्रता दिन नसकेपछि आलोचित हुँदै आएको छ। 


२०७५ को असार महिनामा यो सडकको ११३ किलोमिटर सडक ३६ महिनामा सक्ने गरी चाइना कन्सट्रक्सन प्रालिले १६ अर्ब ९९ करोडमा ठेकका लिएको हो।यो सडक २०७८ साउनमा सम्पन्न गर्ने सम्झौता भए पनि ६० महिनामा काम भने ४३.८६ प्रतिशत मात्र सम्पन्न भएको आयोजनाको बुटवल नारायणगढ सडक खण्डका प्रमुख इन्जिनियर आशिष थापामगरले जानकारी दिनुभयो। सडक निर्माणका क्रममा ४९ हजार ८३० रुख कटान गर्नुपर्ने देखिएको तर ईआई प्रतिवेदनमा २९ हजार मात्र रुख कटान हुनुपर्ने प्रतिवेदन आएको, बिजुली खानेपानीको समस्या पनि उत्तिकै रहेको जस्ता धेरै कारणले पनि सडक निर्माणमा ढिलाइ भएको इन्जिनियर राकेश झाको भनाइ छ।


अहिलेसम्म नारायणगढ दाउन्ने सम्मको खण्डमा १८ किलोमिटर डबल लेनको कालोपत्र सम्पन्न भएको छ, २१५ वटा क्रस डेनेज (साना कल्भर्ट) मध्ये १६७ सम्पन्न भएको र बाँकी पनि सम्पन्न हुुने चरणमा छन्। २२ वटा साना पुलमध्ये २० वटा सम्पन्न भएको र बाँकी दुई वटा पनि एक महिनाभित्र सकिने आयोजनाको भनाइ छ।

कमेन्ट गर्नुहोस्