लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा एक वर्षमै ६५२ मानव अधिकार उल्लंघन तथा ज्यादतिका घटना

tillotmacitynews - 2023 Dec 13 09:00 PM
IMG

तिलोत्तमा सिटी,  २०८०  मंसिर, २७ गते । रुपन्देहीमा एक वर्षको अवधिमा ६ सय ५२ मानव अधिकार उल्लंघन तथा ज्याजतिका घटना भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले ‘नेपाल मानव अधिकार वर्ष पुस्तक-२०२४’ का लागि सङ्कलित घटनाहरुको वार्षिक समीक्षाको सन्दर्भमा उक्त प्रतिवेदन सार्वजनिक गरिएको हो । सेक रुपन्देही जिल्ला प्रतिनिधि रीमा बि.सी.ले सन् २०२३ मा जिल्लामा भएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना सार्वजनिक गरेकी हुन् । जसमा बालबालिका सम्बन्धी बलात्कारका ४९ वटा, यौन दुर्व्यवहारका १६ वटा गरी जम्मा ६५ घटना रहेका छन् । यसैगरी महिला सम्बन्धी बलात्कार १८ र बलात्कार प्रयास ११ गरी जम्मा २९ वटा घटनामा ९४ जना पीडित भेटिएका छन् ।


प्रतिवेदन अनुसार मानव बेचविखन तथा ओसार–पसारका ७ वटा, पारिवारिक हत्या ७ वटा, बालक हत्या १, अपहरण तथा शरिर बन्धक १ र बहुविवाहको १५ वटा घटना घटेका छन् । यसैगरी जवरजस्ती गर्भपतन १ जना, नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी घटना १, बोक्सीको नाममा झारफुक गर्दा १ जनाको मृत्यु हुनुका साथै लैगिंक हिंसा तथा घरेलु हिंसाबाट ५ सय २८ जना पीडित रहेको प्रतिवेदनमा उल्लेख छ । यो वर्ष हिंसामा परियो भनेर २९ जना पुरुषहरुले पनि उजुरी दिएको प्रतिवेदनमा उल्लेख छ ।


कार्यक्रममा रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले इन्सेकले प्रकाशन गर्ने पुस्तक तथा प्रतिवेदन मानव अधिकारको क्षेत्रमा अध्ययन गर्नका लागि स्रोत पुस्तिकाको रुपमा प्रयोग गर्न सकिने भएकोले यस्ता प्रकाशनहरु तथ्यपरक हुनुपर्ने बताए । मानव अधिकारको संरक्षण, प्रवर्द्धन र परिपूर्तिका लागि संवेदनशिल भएर लागेको उनले दाबी गरे । जिल्ला समन्वय समितीका उपप्रमुख राम कृपाल धोवीले कतिपय जनप्रतिनिधि र कर्मचारीको बदमासीले गर्दा पनि नागरिकले विभिन्न खालका समस्याहरु भोग्नु परेको बताउँदै यस विषयमा समेत इन्सेकले ध्यानदिनुपर्नेमा जोड दिए ।


राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनीप्रदेशका प्रमुख सोमनाथ सुवेदीले सबैले आआफ्नो जिम्मेवारीको तहमा बसेर इमान्दारीताका साथ काम गर्नुपर्नेमा जोड दिए । बरिष्ठ अधिवक्ता शिव प्रसाद गौडेलले राष्ट्रियताको सवालमा नागरिकहरुले विभिन्न समस्या भोग्दै आइरहेको बताउँदै ती विषमा पनि इन्सेकले बहस चलाउन आग्रह गरे ।

कमेन्ट गर्नुहोस्