लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लक्ष्मी जयन्ती : सामाजिक महाकवी

IMG

तिलोत्तमा , कार्तिक २६ गते २०८०। 

कालो बादलबाट खसेको

अन्धकारमा भित्र पसेको,

ईश्वर हो कि भिखारी ?


ईश्वर र भिखारीलाई एउटै तराजुमा तुलना गरेर लेखिदिए महाकवि लक्ष्मीप्रसाद देवकोटाले ।


माग्दछ करुणा भाइहरूमा

आई पृथिविवारि,

माग्दछ भिक्षा ईश्वर मेरो

आँगनको एक भिखारी ?


समाजको छर्लगं चित्रलाई बडो चित्ताकर्षक ढगंले पस्कने महाकविका कृती अनि अन्तर्राष्ट्रिय लेखकहरू सँगै अब्बल ढङ्गले पौंठेजोरी खेल्न सक्ने उनका कृतीहरूकै कारणले गर्दा होला देवकोटालाई कतिले 'जियोग्राफिक मिस्टेक' भनेर समेत चित्रण गरेका छन् । स्वर्गमूमि नेपाल अनि नेपालको साहित्य रसका हिरा कृतीका सर्जक देवकोटा सबै नेपाली हृदयमा सदैव चम्किला तारा बनेर विद्यमान छन् ।


आजको दिन नेपाली साहित्य कालागि अत्यन्त विशेष दिन हो । आजकै दिन अर्थात् वि.सं. १९६६ लक्ष्मीपूजाकै दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको नेपाली साहित्यमा सरस्वतीको प्रसादका रूपमा जन्म भएको हो ।नेपाली साहित्य अनि वाङमयमा महाकवि देवकोटाको योगदान उल्लेखनीय छ । वहाँका अमर कृतीहरुः मुना-मदन, कुञ्जीनि, शाकुन्तलजस्ता कृतीहरूले आजसम्म पनि नेपाली साहित्यको शोभा बढाइरहेका छन् ।


"क्षेत्रीको छोरो यो पाउ छुन्छ, घिनले छुँदैन

मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन"


मुनामदनको यी श्लोक उति बेला पनि नेपाली समाजमा समानता र विभेद विरोधी सामाजिक न्यायको बिगुल स्वरूप महाकवि छुवाछुत तथा अनेक जातजातिका सवालमा समान धारणा राख्दथे भन्ने स्पष्ट पार्छ, उति बेलाको नेपाली समाजकालागि यो एउटा ठुलो क्रान्ति नै हुनुपर्छ । शायद यही कारणले गर्दा होला उनको लेखनको चर्चा विभिन्न अन्तर्राष्ट्रिय लेखकहरूले पनि दिल खोलेर गरेका छन् ।


तिन महिनामा शाकुन्तल काव्य लेख्न सक्ने, १० दिनमा सुलोचना लेखेर भ्याउने र एक दिनमा कुञ्जिनी लेखेर भ्याइदिने देवकोटा उनै हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाको आजकै दिन अर्थात् लक्ष्मीपूजा कै दिन जन्म भएको हो ।


निबन्ध स्वरूपमा अझ प्रखर र भरिला अभिव्यक्तिहरू दिन सक्ने महाकविले सत्र वर्षको उमेरमै भारतको पटनाबाट म्याट्रिक पास गरेर त्रिचन्द्र कलेज काठमाण्डौमा कलामा स्नातकोत्तर अध्ययन गर्नुभएको हो । वहाँका मुनामदन, वन कुसुम, प्रमिथस लगायतका कृतीहरू अनि भिखारी, गाइनेको गीत, पागल, पुतली लगायतका कविता संग्रहहरु नेपाली साहित्य अनुरागी कालागि सृजनाको कोशे ढुङ्गा साबित भएको छ । वहाँका कृतीमा वेदना र रसिकताको अद्भुत मिश्रण सहितको एउटा सम्मोहन पाइन्छ ।


भारतीय महापण्डित डा.राहुल साङ्कृत्यायनले भनेका थिए, ‘मैले देवकोटालाई बुद्धपछिको सबैभन्दा ठुलो मानव अवतारका रूपमा लिएको छु ।’ साङ्कृत्यायनले देवकोटालाई भारतका जल्दा बल्दा तीन कवि जय शङ्कर प्रसाद, सुमित्रा नन्दन पन्त र सूर्यकान्त त्रिपाठी निराला बराबर एक जना देवकोटा हुन् भनेका थिए ।


देवकोटाका जीवनका विभिन्न घटनाक्रमहरू अत्यन्त प्रसिद्ध र अचम्म लाग्दा पनि छन् । विद्यालय जीवनमा आफूले लेखेका कविताहरू साथीहरूलाई सुनाउँदा उनीहरूले त्यो कविता देवकोटाले लेखेका हुन भनेर पत्याउथेनन । सुरुवातकालीन दिनहरूमा कवि शिरोमणि लेखनाथ पौड्यालका कृतीहरूबाट प्रेरित देवकोटा पछि गएर पश्चिमी सर्जकहरू वर्डसवर्थ र सेलीका अङ्ग्रेजी सृजनाहरूलाई पनि पढ्न थाले । पढाई का हिसाबमा देवकोटाले आईएस्सी त्रिचन्द्र कलेज वाट गरेका हुन् भनेँ बिए बिएल चाहिँ पटना विश्वविद्यालयबाट गरेका हुन् ।


बर्खामा पानी पर्दा छाताका कारणले कार्यालय ढिला पुगेका देवकोटाले एक दिनभरि नै लगातार छाताका विषयमा भाषण गरिदिएका थिए । दिनै भरि एउटा उदेक लाग्दो विषयमा भए पनि आकर्षक शब्दहरूको माला र वह आयाम केलाउन सक्ने देवकोटाको कलम र मस्तिष्कमा वास्तवमै लक्ष्मी र सरस्वतीका अवतारकै रूपमा नेपाली बाङ्गमय को प्रगतिका लागि आएका हुन् ।


वर्तमान त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन अनि बढोत्तरी कालागि पनि महाकवि आफू शिक्षा मन्त्री हुँदा गरेका दूरगामी कदमहरू प्रशंसनीय छन् ।


चिताग्नि तापी जल डाल्न फाली

संस्कार आफ्नो सब नै गुमाएँ

म शून्यमा शून्य सरी बिलाएँ

जन्मेँ म यो स्वर्ग विषे पलाएँ

आखीर भै खाक त्यसै बिलाएँ।


वि सं २०१६ सालमा संसारबाट बिदा भएका यिनै महाकविको आजको यो जन्मजयन्तिमा वहाँप्रति श्रद्धा सुमन । भाषा, साहित्य र हाम्रा मूर्द्धन्य साहित्यकार तथा स्रष्टाहरू वहाँहरूको सृजनासँगै जिउँदै हुनुहुन्छ र यो पृथ्वी रहुन्जेल बाँचिरहनुहुनेछ । नेपाली साहित्यको जय होस्, नेपाली भाषा अमर रहोस् ।

कमेन्ट गर्नुहोस्