
तिलोत्तमा, २०८० असोज ८ गते। यस वर्षका लागि अभिनेत्री केकी अधिकारीको तेस्रो फिल्म ‘परदेशी २’ दशैंको छेको पारेर असोज २६ गतेदेखि प्रदर्शनमा आउँदैछ। यो फिल्मप्रति उनमा व्यावसायिक सफलताको ठूलो आशा देखिन्छ । यसैले प्रचारमा पनि राम्रै खटिएकी छन् । यतिबेला प्रचारको सिलसिलामा मोफसल यात्रामा रहेकी उनले यो फिल्मबाट मौलिक कथामा काम गर्ने रहर पूरा भएकोमा खुसी व्यक्त गरेकी छन् ।
नेपालगञ्जमा पत्रकारहरुसँगको कुराकानीमा उनले भनिन्, ‘यो फिल्मले मेरो मौलिक कथामा काम गर्ने रहर पूरा गर्यो । ‘परदेशी २’ हामी सबैको कथा समेटिएको फिल्म हो । त्यसैले पनि म उत्साहित छु । प्रकाश सपूतसँग काम गर्न पाउँदा पनि खुशी छु । नारायण रायमाझी सर (निर्देशक)का यसअघिका फिल्महरु म दर्शक बनेर हेर्थेँ, अहिले कलाकार बनेर काम गर्ने अवसर पाउँदा खुसी छु ।’
‘परदेशी २’बाट अभिनेताको रुपमा डेब्यू गरेका गायक प्रकाश सपूत पहिलो फिल्म भएकाले उत्साहसँगै डर पनि रहेको बताउँछन् । त्यस्तै, निर्देशक नारायण रायमाझीले फिल्मले हाम्रो समाजको कथा उठान गरेकोले दर्शकलाई मनपर्ने विश्वास व्यक्त गरे । संसार घुमे पनि आफ्नो मातृभूमि, आमा-बुबा, साथीभाईलाई कहिल्यै भुल्नु हुँदैन भन्ने फिल्मको कथासार रहेको उनले स्पष्ट पारेका छन् ।
असोज २६ मा ‘परदेशी २’ प्रदर्शन हुने, प्रकाश सपुत डेब्यु गर्दै
आफु भित्र हिरोइज्म देखेका प्रकाश सपुत आखिर हिरो नै बनेका छन्। उनका आफ्ना गीतमा विभिन्न खाले दृश्यमा मनादेखिको हिरो बन्ने चाहना छरपस्ट हुन्थ्यो। बोल माया , गलबन्दी लगायतका उनका गीतमा समेत नेपाली नायक दिलिप रायमाझीको स्टाइलमा देखिएका सपुतको डेब्यु फिल्म परदेशी २ मार्फत ठुलो पर्दामा देखिने भएका छन्।
लोक तथा दोहोरी गायक तथा निर्माता एबम निर्देशक नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ आगामी असोज २६ गतेदेखि मात्र प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक नयाँ पोष्टर सार्वजनिक गर्दै रिलिज मिति पनि घोषणा गरेको हो ।यस अगाडि गत फागुन ५ गते आउने भनिएको यो फिल्मको प्राविधिक काम नसकिएको जनाउँदै निर्माण युनिटले रिलिज मिति सारेको थियो । 'फिल्मको केही दृश्य अझै खिच्नुपर्ने छ, प्राविधिक कार्य पनि राम्रोसँग सकाउने उदेश्यले प्रदर्शन मिति असोजमा पुर्याइएको हो,' निर्देशक रायमाझीले बताए ।‘परदेशी– २’ सन् २०१५ मा प्रदर्शनमा आएको फिल्म ‘परदेशी’ को सिक्वेल हो ।
फिल्ममा प्रकाश सपुत, केकी अधिकारी, दीलिप रायमाझी, वर्षा शिवाकोटी, नीर शाह, सुशील पोखरेल, सबिन बास्तोला, रमा थपलिया, भिमा मैनाली, रोशनी कार्की लगायतका कलाकारको अभिनय छ ।नारायण इन्टरनेशनलको प्रस्तुतिमा बनेको फिल्मको कथा रमेश बिजीले लेखेका हुन् । बीबी अनुरागीको संगीत रहेको फिल्ममा रामजी लामिछानेसँगै गोविन्द राईको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व, मानकृष्ण महर्जनले छायांकन र दीर्घ खड्काको सम्पादन छ ।नेपाल र अमेरिकामा छायांकन भएको फिल्मको वितरण उपत्यकामा डिसीएन र उपत्यकामा बाहिर एफडी कम्पनीले गर्नेछ ।
कमेन्ट गर्नुहोस्