
तिलोत्तमा सिटी । भाद्र २६ गते । हृदयघातबाट निधन हुनुभएका नेकपा (एमाले) का उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर अहिले केहीबेरमा ललितपुरका च्यासलमा रहेकाे पार्टी कार्यालयमा राखिने भएको छ । काठमाण्डौको बालुवाटर बस्ने उहाँलाई हृदयघात भएपछि महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पताल लगिएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्याउनेबित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेका थिए । नेपालको संवैधानिक व्यवस्थाका लागि ऐतिहासिक जिम्मेवारी सम्हालेका नेम्वाङ दुईपटक संविधानसभा अध्यक्ष हुनुभयो । उहाँ सभामुख पनि बनिसक्नुभएको छ । विक्रम संवत् २००९ साल फागुन २८ मा इलामको सुन्तलाबारीमा नेम्वाङको जन्म भएको थियो । कानुनमा स्नातक गरेका नेम्वाङले केही समय कानुन व्यवसायमा समेत समय बिताउनुभयो ।
विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका नेम्वाङ २०२९ सालमा अनेरास्ववियुकातर्फबाट महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा स्ववियु सभापति हुनुभयो । २०३३ सालमा राजकाज मुद्दामा जेल परेका नेम्वाङ तत्कालीन नेकपा मालेमा सङ्गठित हुनुभएको थियो । २०४७ सालमा तत्कालीन नेकपा माले र नेकपा माक्सवादी पार्टीबीच एकता भएपछि बनेको नेकपा एमालेको कानुन विभाग प्रमुख हुँदै २०५८ सालबाट नेम्वाङ केन्द्रीय सदस्यमा मनोनित हुनुभयो । एमालेको सातौँ महाधिवेशनमा उहाँ केन्द्रीय सदस्य निर्वाचित हुनुभयो । २०७१ सालमा भएको नवौँ महाधिवेशनपछि उहाँ स्थायी कमिटी सदस्य र २०७८ सालमा भएको दशौँ महाधिवेशनमा उपाध्यक्ष बन्नुभयो ।
विक्रम संवत् २०४८ र २०५२ सालमा नेम्वाङ राष्ट्रिय सभाको अध्यक्ष रहनुभयो । २०५२ सालमै कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री हुनुभयो । २०५६ सालको संसदीय चुनावमा इलामबाट विजयी नेम्वाङ फेरि कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री, त्यसपछि सामान्य प्रशासनमन्त्री हुनुभयो । २०५७ सालमा उहाँ संसद्को सार्वजनिक लेखा समितिको सभापति हुनुभयो । २०६३ सालको अन्तरिम संसदमा उहाँ सभामुख चयन हुनुभयो । २०६४ मा भएको चुनावमा इलामबाटै निर्वाचित नेम्वाङ संविधानसभाको अध्यक्ष हुनुभयो । त्यसपछि २०७० सालको दोस्रो संविधानसभा चुनावपछि पनि उहाँ अध्यक्ष बन्नुभयो । २०७४ साल र २०७९ सालको आम चुनावमा नेम्वाङ प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभयो ।
कमेन्ट गर्नुहोस्