लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

छाडा चौपाया ब्यवस्थापन : ‘सरकारले नै गौ संरक्षण निकुञ्ज संचालन गर्नुपर्छ’

tillotmacitynews - 2023 Sep 12 01:40 PM
IMG

तिलोत्तमा सिटी, २०८० भाद्र २६ गते । रुपन्देहीमा देखिएका छाडा चौपाया ब्यवस्थापनबारे बुद्ध सामुदायिक टेलिभिजनले सरोकारवाला निकायका बिचमा छलफल चलाएको छ । बुटवल उपमहानगरपालिकामा छाडा चौपायाको संख्या बुद्धि हुँदै जाँदा दुर्घटना बढ्दै गएको र गाईगोरुले समेत दुख पाएको भन्दै टेलिभिजनले सरोकारवाला निकायका बिचमा छलफल संचालन गरेको हो ।शान्तिका लागि संचार अभियानद्धारा संचालित बुद्ध सामुदायिक टेलिभिजनको १५ औं वार्षिकउत्सवको अवसरमा सोमबार बुटवलको शिवनगर सामुदायिक बनमा रहेको नन्दनी गौशालामा सरोकारवाला निकायका बिचमा छलफल संचालन गरेको हो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले छाडा चौपायाको ब्यवस्थापनको लागि नयाँ कार्यविधि अनुसार गौशाला संचालनको तयारी गरिएको जानकारी दिनुभयो ।


उहाँले एकैपटक ४–५ सय चौपायाको ब्यवस्थापन हुने गरी गौशाला संचालनको लागि नगरले तयारी गरेको र धार्मिक संस्थालाई ब्यवस्थापनको जिम्मा दिने गरी तयारी गरिएको बताउनुभयो । गौशाला संचालनको लागि पछिल्लो समय बन कार्यालयले कानूनी अड्चन देखाएर अवरोध सृजना गर्ने कोशिष गरेको गुनाशो पाख्दै प्रमुख पाण्डेयले छाडा चौपायाको ब्यवस्थापनको लागि आफु जुनसुकै लडाई लड्नको लागि तयार बताउनुभयो ।


बुटवलको नयाँगाउँमा रहेको मूक्तिनाथ धामका प्रमुख संरक्षक स्वामी लोकानन्द सरस्वती महाराजले गाईगोरुको ब्यवस्थापनको लागि केन्द्रीय सरकारसँग नै पहल गर्नुपर्ने बताउनु भयो । एउटा ब्यक्तिले मात्र गाईगोरुको ब्यवस्थापन गर्न नसक्ने बताउँदै यसको लागि यहाँका सरोकारवाला निकायले प्रधानमन्त्री समक्ष नै ध्यानआकृषण गराउनु पर्नेमा जोड दिनुभयो । सरकारले नै गौ संरक्षण निकुञ्ज संचालन गर्न सके देशभरका गाईगोरुको ब्यवस्थापनसँगै संरक्षण हुने उहाँको सुझाब छ ।


रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले सीमानाकाबाट नेपाल प्रवेश गर्ने गाईगोरुको नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय सधै लागि रहेका बताउनुभयो । गाईगोरुको संरक्षण आवश्यकता रहेको बताउँदै उहाँले बैज्ञानीक तरिकाले छाडा चौपायाको दिगो ब्यवस्थापन गरिनुपर्ने बताउनुभयो ।


यस्तै बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले नेपालको संविधानमै गाईलाई राष्ट्रिय जनावर उल्लेख गरेकाले तिनै तहका सरकार मिलेर गौं संरक्षण गरिनु पर्ने बताउनुभयो । सीमानाकाबाट आउने छाडा चौपायालाई राकिनु पर्ने र छाडाचौपाया नियन्त्रणको लागि सबैको साथ आवश्यकता रहेको बताउनुभयो ।


गाई हिन्दुहरुको आस्थाको जनावर मात्र नभएर राष्ट्रिय जनावर भएकाले सबै धर्मालम्बी र जातजाती संरक्षणको लागि एकजुट हुनुपर्ने उहाँको भनाइ छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख कृष्ण प्रसाईले विगत ३ वर्षमा लुम्बिनी प्रदेशमा छाडा चौपायाका कारण ६० वटा दुर्घटना भएको जानकारी दिँदै सडक दुर्घटनाको २० प्रतिशत कारण छाडा चौपाया हुने गरेको बताउनु भयो ।



ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दान बहादुर थापाले गाईगोरुको ब्यवस्थापन र संरक्षणको लागि प्रहरीले सधै सहयोग गर्ने बताउनु भयो ।


बुद्ध सामुदायिक टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा बुटवल वडा नं ८ का वडा अध्यक्ष यंगप्रसाद पंगेनी , ओम परिवाकार उपाध्यक्ष पुरुषोत्तम पाण्डेय ,विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष जनार्दन न्यौपाने ,बन कार्यालयका वन अधिकृत सूर्य मैनाली , विश्व हिन्दु महासंघका नगर अध्यक्ष चन्द्रमान श्रेष्ठ, पश्चिम नेपाल बस ब्यवसायी प्रालीका संचालक सदस्य नारायण घिमिरे लगायतले बोल्दै सबैको अपनत्व ग्रहण गरेर समस्या समाधान गर्न सकिने बताए ।


टेलिभिजनका कार्यकारी प्रमुख विक्रम खड्काले वार्षिकोत्सवको अवसरमा टेलिभिजनले साप्तहाब्यापी कार्यक्रम अन्तरगत गौशालामा आएर छाडा चौपाया ब्यवस्थापनको लागि सरोकारवाला निकायका बिचमा छलफल गरेको बताउनु भयो । सोही अवसरमा गौशालामा रहेका गाईगोरुलाई गुड खुवाउने कार्यक्रम समेत गरिएको उहाँले जानकारी दिनुभयो । 


वार्षिकोत्सवकै अवसरमा टेलिभिजनले मंगलबार बुटवलमा शुसासनकालागि स्थानीय तह र मिडियाको भूमिका विषयक गोष्ठी संचालन गर्न लागेको समाचार प्रमुख कपिल ज्ञवालीले जानकारी दिनुभयो ।  भदाै २७ गते बुधबार मूल समारोहको आयोजना र तिज विशेष कार्यक्रमको आयोजना गर्दै वार्षिकोत्सवको समापन हुने टेलिभिजनका कार्यक्रम प्रमुख खेमराज रेग्मीले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्