
तिलोत्तमा सिटी । साउन ३२ गते । लुम्बिनी प्रदेशमा पछिल्लो वर्षमा सवारी दुर्घटना परी एक हजार ५३६ जनाको मृत्यु भएको छ भने ३ हजार ५ जना गम्भीर घाइते भएका छन् । प्रदेशमा रहेका १२ वटा जिल्लामा तीन हजार २६७ सवारी दुर्घटना भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ । आर्थिक वर्ष ०७७/७८मा भएका १२११ सवारी दुर्घटनामा परी ५२३ जनाको मृत्यु भएको थियो भने १ हजार ८३ जना गम्भीर घाइते हुदा ७४० जना सामान्य घाइते भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । यसैगरी आर्थिक वर्ष ०७८/७९ मा ११६४ सवारी दुर्घटनामा परि ५५१ जनाले ज्यान गुमाएका थिए भने ११२३ जना गम्भीर घाइते र ५९७ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । गत आर्थिक वर्ष ०७९÷८० मा अघिल्ला दुई आर्थिक वर्ष भन्दा सवारी दुर्घटनामा केहि कमि आएको देखिन्छ । गत आर्थिक वर्षमा ८९२ वटा सवारी दुर्घटना हुँदा ४६२ जनाको मृत्यु भएको र दुर्घटनामा परि ७९९ जना गम्भीर घाइते र ४७७ जना सामान्य घाइते भएको तथ्यांक प्रहरीसंग छ ।
अघिल्ला बर्षको तुलनामा पछिल्ला वर्ष सवारी दुर्घटना कमि आउनुमा प्रहरी सचेतना र कारवाही मुख्य रहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रवक्ता डीएसपी होम थापाको भनाई छ । ‘हामीले पछिल्लो समय दैनिक ट्राफिक जनसचेतना कार्यक्रम चलाएका छौ, थापाले भन्नुभयो, लापरवाही गर्नेलाई कारबाही पनि गरेका छौं ।’ राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा पछिल्ला तीन वर्षमा ट्राफिक नियम विपरीत सवारी चलाउनेलाई कारवाही गरी ४३ करोड २१ हजार राजस्व सङ्कलन गरेको जनाएको छ ।
कमेन्ट गर्नुहोस्