लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दुई लाख युवालाई रोजगारी दिने योजना छ : मुख्यमन्त्री चौधरी

IMG

तिलोत्तमा, साउन २७ गते २०८०। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले युवा परिवर्तनका संवाहक भएको बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश युवा परिषदले  रुपन्देहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री चौधरीले सो कुरा बताएका हुन् ।मुख्यमन्त्री चौधरीले प्रदेश सरकारले दुई लाख युवालाई रोजगारीमा जोड्ने लक्ष्य लिएको समेत बताए । उनले युवालाई रोजगारी सिर्जना गर्ने काममा सरकारले सहयोग गर्ने र त्यसको लागि प्रस्ताव पत्र बनाएर ल्याउन आग्रह गरे।युवालाई उद्यमशिलता र उत्पादनलाई कसरी ब्राण्डिङ गर्ने भन्ने विषयमा चिन्तन गर्न आग्रह गर्दै यसले रोजगारीका लागि पलायन भइरहेको युवा जनशक्तिलाई रोक्न सकिने बताए । 


नेपालको उत्पादन विश्वबजारमा पुर्याउन सकिने बताउँदै चौधरीले उत्पादनलाई ब्राण्डिङ र मार्केटिङ गर्न प्रदेश सरकारले सहयोग गर्ने बताए । सरकारले नीतिगत रुपमा उत्पादन क्षेत्रलाई प्रोत्हासन गर्ने वातावरण तयार पार्ने समेत उनले बताए ।लुम्बिनी प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री वसिउद्धिन खाँणले प्रदेशमा समग्र जनसंख्याको ५० प्रतिशतभन्दा बढी युवा जनशक्ति रहेको बताउँदै युवाको भविष्य अघि बढाउन नीतिगत रुपमा सहयोग गनुपर्नेमा जोड दिए ।


प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष गोविन्दबहादुर खत्रीले युवालाई उद्यमशिलतामा जोड्नुपर्ने र नेपाली उत्पादनलाई ब्राण्डिङ गर्नुपर्ने बताए । युवा उद्यमीलाई परिषदको साथ रहने र सरकारको तर्फबाट पनि पूर्ण सहयोग रहनुपर्ने उनको भनाइ थियो ।‘दिगो विकासको लक्ष्य प्राप्तिमा युवाको साथ, नवप्रवर्तन र उद्यमशिलतामा हरित सीप विकास’ भन्ने नारा सहित मनाइएको अन्तर्राष्ट्रिय युवा दिवस कार्यक्रममा  युवा उद्यमशिलता विकासमा योगदान गरेका प्रदेशका १५ जना उद्यमी तथा संस्थाहरुलाई सम्मान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्