
तिलोत्तमा सिटी । असार १९ गते । रूपन्देही, स्याङ्जा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, दाङ र आसपासका क्षेत्रमा परेको भरि बर्षाका कारण बाढी पहिरोको जोखिम बढेर गएको छ । यी ठाउँका खहरे खोलामा आकस्मिक बाढी आउनुका साथै पहाडका कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले यी क्षेत्रमा दिउँसो १ बजेसम्म यात्रा गर्दा सतर्कता अपनाउन अनुरोध गरेको छ । यस्तै, तिनाउ नदीमा बाढी आएको छ । नदी बाढीमापन केन्द्र बुटवलमा जलसतहले खतराको तह पार गरेको छ । तिनाउ नदीमा अझै पानीको सतह बढिरहेको छ । तिनाउ नदी तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने होचा ठाउँका बासिन्दालाई बिहान १० बजेसम्म सुरक्षित ठाउँमा जान अनुरोध गरिएको छ । गण्डकी र लुम्बिनी प्रदेशमा गएरातिदेखि नै ठूलो पानी परिरहेको छ । यसैगरी यी ठाँउहरुको यात्रा गर्दा दिउँसो १ बजेसम्म। सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । मौसम विज्ञान विभागका अनुसार स्याङ्जाको कुमालगाउँ, दाङको कोइलाबास, अर्घाखाँचीको खाँचीकोट, पाल्पाको बल्ड्याङगढी, नवलपुरको देउराली, लम्जुङको खुदीबजार, पाल्पाको तानसेन र जितपुर केन्द्रमा अति भारी वर्षा मापन भएको छ । यीमध्ये २४ घण्टाको अवधिमा पाल्पाको बल्ड्याङगढीमा सबैभन्दा धेरै २२७.६ मिलिमिटर वर्षा मापन भएको छ ।
यसैबीच
तिनाउ नदी बाढीमापन केन्द्र बुटबलका अनुसार तिनाउ नदीमा जलसतहले खतराको तह पार गर्दा खतराको संकेत स्वरुप साइरन बजाइएको छ । तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने होचा स्थानहरुमा सुरक्षित स्थानमा रहन सूचना जारी गरिएको छ । अन्य स्थानका नदी तथा खोलाहरुमा भने जलसतह खतराको तहभन्दा तलै छ । मौसमविद गंगा नगरकोटीका अनुसार अहिले देशैभर बादल लागिरहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ भने बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा पनि बिहानैदेखि वर्षा भइरहेको छ ।
कमेन्ट गर्नुहोस्