लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सारिँदै

IMG

तिलोत्तमा सिटी । असार १४ गते । आज हरिशयनी एकादशी  । हरेक वर्ष असार शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारिन्छ । एक महिनाअघि जेठ शुक्ल एकादशीका दिनमा राखिएको दलको बिरुवा आज तुलसीको मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । असार शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य डा देवमणि भट्टराई बताउनुहुन्छ ।



भगवान विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । यस वर्ष भने साउन महिनामा अधिकमास परेकाले पाँच महिना हुने भएको छ । एक वर्षमा २४ वटा एकादशी पर्छ । यस वर्ष भने अधिकमासका दुईसमेत गरी २६  वटा एकादशी परेको भट्टराईले बताउनुभयो । हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि काठमाण्डौ उपत्यकाका बूढानीलकण्ठ, चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको चाप छ । वैज्ञानिकरुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रुपमा समेत प्रयोग गरिन्छ । तुलसीको मोठ भएका ठाउँमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत गरिन्छ । 


कमेन्ट गर्नुहोस्