लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

देवघाट गाउँपालिकाको भवन निर्माण अलपत्र, ५ वर्षको भौतिक प्रगति जम्मा ६० प्रतिशत

tillotmacitynews - 2023 Jun 28 11:45 AM
IMG

तिलोत्तमा सिटी / १३ असार , देवघाट । स्थानीय तह आएको ६ वर्ष भइसक्दा पनि देवघाट गाउँपालिकाको कार्यालय भाडाको घरमा सञ्चालित छ । वडा नं–५ को क्युदीमा निर्माणाधीन कार्यालयको प्रशासकीय भवनको काम विगत एक महिनादेखि रोकिएको छ ।


गाउँपालिका र गण्डकी प्रदेश सरकारबाट आएको कुल पाँच करोड ८० लाख ६३ हजार ८७८ रूपैयाँ ५१ पैसामा निर्माण भइरहेको प्रशासकीय भवनको ठेक्का २०७६ असार २२ गते नै सम्झौता भएको थियो । सम्झौताअनुसार २०७९ असार १८ गतेसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म जम्मा ६०.९२ प्रतिशतमात्रै भौतिक प्रगति देखिएको छ । आर्थिक प्रगति भने जम्मा ५५.८९ प्रतिशतमात्रै देखिएको देवघाट गाउँपालिकाकी सव–इन्जिनियर परिक्रमा पन्तले जानकारी दिइन् ।


उनका अनुसार पटकपटक म्याद थप गर्दा पनि ठेकेदारले काम नगरिदिँदा काम सम्पन्न गर्नमा ढिलाइ भएको हो ।


तेस्रोपटक थपिएको म्याद पनि यही असार मसान्तमा सकिँदै छ । पछिल्लोपटक तीन महिनाका लागि म्याद थप गरेको हो । तर, काम भने एक महिनादेखि रोकिएको उनले बताइन् । ठेकेदारले रिटर्निङ वाल निर्माण र कोभिड–१९ को जोखिमका कारण काम गर्न नसकेको बताउँदै ढिलाइ गरिरहेको उनले बताइन् । गाउँपालिकाबाट ठेकेदारले प्रदेशको बजेट ५०/५० लाखको दरले तीनपटकमा डेढ करोड र गाउँपालिकाबाट पटकपटक गरी एक करोड ७४ लाख ४९ हजार ३६८ रूपैयाँ ३६ पैसा गरी कुल तीन करोड २४ लाख ४९ हजार ३६८ रूपैयाँ ३६ पैसा भुक्तानी लगिसकेका छन् ।


गाउँपालिकाले विशुद्ध ठेकेदारको लापर्बाहीले गर्दा काम अलपत्र परेको बताउँदै आएको छ । ‘हामीबाट बजेट रोकावट छैन, ठेकेदारको लापर्वाहीले गर्दा भवन निर्माणको काम अलपत्र प¥यो’, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले भने, ‘जसले गर्दा स्थानीय सरकारको ६ वर्ष बितिसक्दा पनि आफ्नै भवनमा सर्न सकेको छैन ।’


गाउँपालिकाका उपाध्यक्ष भुवनसिं गुरूङ भने काम नगर्ने ठेकेदारसँग ठेक्का तोड्ने तयारीमा रहेको बताउँछन् । ‘हाम्रो पालिकाको प्रशासकीय भवनमात्रै होइन ठेकेदारकै कारण धेरै ठाउँमा काम अलपत्र परेका छन्’, उनले भने, ‘त्यस्ता ठेकेदार कम्पनीलाई छानीछानी कारबाही गर्ने तयारीमा छौँ ।’ काम अलपत्र पार्ने ठेकेदारलाइ कालो सुचिमा राखेर कारबाही गर्ने तयारीमा छौ भन्दै गाउँपालिका अध्यक्ष  थापाले जानदिएका थिए।

कमेन्ट गर्नुहोस्