लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ४१ करोड ९६ लाखको बजेट

IMG

तिलोत्तमा सिटी / असार ११ ,  काठमाडौँ  । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट विनियोजन गरेको छ ।


आज राष्ट्रिय सभागृहमा काठमाडौँ महानगरका उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक सुनिता डङ्गोलले सार्वजनिक गरेको बजेटमा चालुतर्फ रु आठ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगत तर्फ रु १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार बजेट विनियोजन गरिएको छ ।


कामपाले चालु आवका लागि रु २५ अर्ब ४१ करोड ९६ लाख ९६ को बजेट विनियोजन गरेको थियो । चालु आवको तुलनामा आगामी आवको बजेट करिब रु १४ करोडले बढी हो ।


आगामी आवको बजेटमा स्वास्थ्य, शिक्षालाई र पूर्वाधारलाई प्राथमिकता साथ बजेट विनियोजन गरिएको छ । जसअन्तर्गत पूर्वाधारमा सबैभन्दा धेरै रु सात अर्ब ३४ करोड ६४ लाख ७१ हजार, शिक्षामा रु एक अर्ब ३२ करोड र स्वास्थ्यमा रु ९२ करोड ६६ लाख ४४ हजार बजेट विनियोजन गरिएको छ ।


बजेटमा भौतिक पूर्वाधार विकास, फोहरमैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवद्र्धन जस्ता विषयले समेटिएका छन् । आगामी आर्थिक वर्षका लागि महानगरलाई सङ्घीय सरकारबाट रु दुई अर्ब १४ करोड ३१ लाख प्राप्त भएको छ  ।


कामपाले १० विषयगत क्षेत्रका महानगर गौरवको योजनाका लागि रु तीन अर्ब ८० करोड  विनियोजन गरेको छ । महानगर स्वर्णिम योजना अन्तर्गत २५ वटा विषयगत क्षेत्रका योजनाका लागि रु दुई अर्ब विनियोजन गरिएको छ ।


वडाबाट प्राप्त योजनालाई प्राथमिकता प्राप्त योजनामा राखी त्यसका लागि रु एक अर्ब ७६ करोड  विनियोजना गरिएको छ । फोहरमैला व्यवस्थापनका लागि रु सात करोड विनियोजन गरिएको छ ।


बजेटमा ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ योजनाका लागि ५० करोड र ‘रोजगारी र आयवृद्धि महानगरको समृद्धि’ कार्यक्रमका लागि रु १० करोड बिनियोजन गरिएको छ । रोजगारी वृद्धिका लागि बेरोजगार र रोजगारदाता बीच ‘जव लिंक एप’ प्रयोगमा ल्याइने बजेटमा उल्लेख छ ।


बजेटमा उत्पादन र उपभोगलाई जोड्न अनलाइन ई–कमर्श पोर्टलमार्फत मेट्रो मार्ट सञ्चालनका लागि रु एक करोड र स्थानीय समुदायमा प्रचलनमा रहेको स्थानीय पेय पदार्थलाई निजी व्यवसायीको सहकार्यमा ब्राण्डिङ गर्ने कार्यका लागि आवश्यक बजेट छुट्याइएको छ ।


साथै ‘मेरो रहर, हरित सहर’ कार्यक्रमका लागि रु ५० करोड बजेट बिनियोजन गरिएको छ । उक्त कार्यक्रम अन्तर्गत महानगर क्षेत्रको पार्क, आइल्याण्डको निर्माण, मर्मत, संरक्षण र  काम गरिनेछ । महानगरले  महानगर टेलिभिजन स्थापनाका लागि रु ५ करोड छुट्याएको छ । महानगरका मुख्य सडक, चोक एवं गल्लीमा समेत ‘सर्भिलेन्स क्यामरा’ जडान गरी महानगर बासीलाई सुरक्षित परिवेशमा बस्न योग्य शहर बनाउने उद्देश्यले ‘महानगरले देख्न’ योजनालाई गौरवको कार्यक्रममा समावेश गरिएको छ । यसका लागि रु २० करोड बजेट बिनियोजन गरिएको छ ।


महानगरपालिका क्षेत्रमा भित्रिने तरकारी एवं फलफूलको विषादी परीक्षणका लागि विषादी परीक्षण प्रयोगशाला स्थापनाका लागि रु एक करोड ५० लाख बजेट बिनियोजन गरिएको छ ।


साथै युवा जनशक्तिलाई ‘श्रम बैंक’ स्वर्णिम योजनामा आबद्ध गराइ सीप तथा क्षमता विकास मार्फत रोजगारीको अवसर सिर्जना गर्न रु १० करोड बजेट विनियोजन गरिएको छ । साथै कर्मचारीहरुको सुनौलो अवकाश योजना कार्यान्वयनका लागि रु १० करोड बजेट विनियोजन गरिएको छ ।

कमेन्ट गर्नुहोस्