
तिलोत्तमा सिटी । जेठ २६ गते । गर्मी बढेसँगै पश्चिम तराईका जिल्लामा तातो हावा चल्दा जनजीवन प्रभावित बनाएको छ । बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म पश्चिम तराईका भैरहवा, नेपालगन्ज लगायतका शहरहरुमा बसी नसक्नु गर्मि बढेको छ । भैरहवामा एक सातादेखि तापक्रम ४१ देखि ४२ डिग्री सेल्सियससम्म पुगेको छ । ब्यस्त देखिने सहरका सडक पनि दिउँसो सुनसान हुन थालेका छन् । यसैबीच केही दिनदेखि भइरहेको उखरमाउलो गर्मी तत्काल घट्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । मौसमविद् रोजन लामिछानेका अनुसार तत्काल ठूलो वर्षाको सम्भावना नरहेकाले अझै चार÷पाँच दिन गर्मी यस्तै रहिरहने छ । तराईका धेरैजसो जिल्लामा अबको चार÷पाँच दिन नै तातो हावा लू चल्ने अनुमान छ । पहाडी केही जिल्लामा पनि ठूलो पानी पर्ने सम्भावना नरहेको तर एक÷दुई ठाउँमा भने फाट्टफुट्ट पानी पर्न सक्ने उहाँले बताउनुभयो ।
यसपालि मनसुन पनि ढिलो गरी भित्रिने सम्भावना रहेकाले गर्मीको अवधि लम्बिने उहाँको भनाइ छ । गर्मी बढेसँगै बिरामी हुनेको सङ्ख्या पनि बढ्न थालेको छ । रुपन्देहीसहित देशभरका अस्पतालमा झाडापखाला, झाडाबान्ता, ज्वरो, टाइफाइट, रुघाखोकीका बिरामी बढेका छन् । गर्मीका कारण धेरैजसोलाई टाउको दुख्ने समस्या देखिएको डाक्टरले बताएका छन् । गर्मीमा खानेकुरा छिट्टै बिग्रने भएकाले खानपानमा ध्यान दिन पनि डाक्टरको सुझाव छ । गर्मीका बेला प्रशस्त शुद्ध पानी पिउन, बासी खानेकुरा नखान, सकेसम्म घाममा नहिँड्न, हिँड्नै परे छाता ओड्न, छहारी तथा शीतल ठाउँमा बस्न, पातलो कपडा लगाउन जनस्वास्थ्यविद् डाक्टर बाबुराम मरासिनीको सुझाव छ ।
कमेन्ट गर्नुहोस्