
तिलोत्तमा,जेष्ठ १० २०८० साल।आगामी जुन-जुलाईमा जिम्बावेमा हुने आईसीसी क्रिकेट विश्वकप छनोटअघि नेपालले दुई वार्मअप म्याच खेल्नेछ ।विश्वकप छनोटमा १० टोलीले प्रतिस्पर्धा गर्दैछन् । जहाँ छनोट प्रतियोगिताअघि हरेक टोलीले दुई/दुई वार्मअप म्याच खेल्ने अवसर पाउनेछ ।आईसीसीले मंगलबार विश्वकप छनोटको समूह विभाजन र खेलतालिकासहित वार्मअप म्याचको पनि खेलतालिका सार्वजनिक गरेको छ । जसअनुसार नेपालले छनोटमा अर्को समूहमा रहेको यूएई र ओमानसँग वार्मअप म्याच खेल्नेछ ।विश्वकप छनोट खेल्ने सबै एशोसिएट टिमले मुख्य प्रतियोगितामा टेष्ट राष्ट्रसँग दुई-दुई खेल खेल्न पाउनेछ ।
तर वार्मअप म्याचमा भने एशोसिएटमा नेपालले मात्र एशोसिएट टिमसँग मात्र खेल्ने तालिका छ ।अन्य एशोसिएट टिमले टेष्ट राष्ट्रसँग वार्म अफ म्याच खेल्ने तालिका हुँदा नेपालले भने टेष्ट राष्ट्रसँग वार्म अफ म्याच खेल्न नपाउने भएको छ ।मुख्य प्रतियोगितामा टेष्ट राष्ट्रसँग खेल्नुअघि वार्मअप म्याचमा पनि टेष्ट राष्ट्रसँग खेल्दा खेलाडीले एक्सपोजर पाउने र स्तर थाहा पाउने अवसर हुनेछ । तर यस पटक नेपालले भने त्यो अवसर नपाउने भएको छ ।नेपाल र यूएईबीच जुन १३ मा ओल्ड हरारियन्स क्रिकेट क्लबमा खेल हुनेछ । यस्तै नेपालले ओमानसँग जुन १५ मा हरारे स्पोर्ट्स क्लबमा खेल्नेछ ।नेपालले एसियाली लेभलमा खेलिसकेको र लिग टु मा पनि खेलिसकेको दुई टोलीसँग मात्र वार्मअप म्याच खेल्ने भएको छ ।
नेपालले गत वैशाखमा घरेलु मैदानमा भएको एसीसी प्रिमियर कपमा ओमान र यूएई दुवैलाई हराएको थियो । नेपालले फाइनलमा यूएईलाई हराएर प्रिमियर कप च्याम्पियन बन्दै एसिया कपमा स्थान बनाएको थियो ।नेपाली टोली एक साता नेपालमा तयारीपछि अन्तिम चरणको प्रशिक्षण र तयारीका लागि दक्षिण अफ्रिका जानेछ । जहाँ नेपालले स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग अभ्यास खेल खेल्ने क्यानले जनाएको छ । नेपाली टोली त्यतैबाट जुन १० मा जिम्बावे जानेछ ।विश्वकप छनोटमा नेपाल आयोजक जिम्बावे रहेको समूह ए मा छ । यस समूहमा पूर्व विश्वकप विजेता वेष्ट इन्डिजसहित जिम्बावे, नेपाल, नेदरल्याण्ड्स र अमेरिकासँग खेल्नेछ ।
नेपालले पहिलो पटक वेष्ट इन्डिजसँग ओडीआई खेल खेल्नेछ । यस्तै जिम्बावेसँग पनि नेपालको पहिलो ओडीआई खेल हुनेछ । २०१८ मा पनि जिम्बावेमै भएको विश्वकप छनोटमा नेपालले जिम्बासवेसँग खेलेको थियो तर नेपालको ओडीआई मान्यता नभएकोले त्यो खेलले मान्यता पाएन ।सन् २०१८ मा पहिलो पटक ओडीआई मान्यता पाएको नेपालले टेष्ट राष्ट्रसँग यही विश्वकप छनोटमा पहिलो पटक ओडीआई म्याच खेल्नेछ ।समूह बी मा श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र युएई छन् ।यसपटक भने सबै खेल ओडीआई मान्यताको हुनेछ । विश्वकप छनोटमा चार टेष्ट र ६ एशोसिएट टिमले प्रतिस्पर्धा गर्नेछन् । जहाँबाट शीर्ष दुई टोलीले भारतमा हुने वान डे विश्वकपमा स्थान पक्का गर्नेछ ।
कमेन्ट गर्नुहोस्