लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मञ्जु सम्पर्क विहीन, आरजुलाई देउवाको आड

tillotmacitynews - 2023 May 14 09:03 AM
IMG

             तिलोत्तमा सिटी / वैशाख ३१ काठमाडौं ।  नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको ‘सन्देहपूर्ण’ मौनता देखिएको छ । मानव बेचबिखन जस्तो जघन्य अपराधमा पक्राउ परेका खाँणलाई पार्टीको पदबाट निलम्बन गर्न नागरिक अभियन्ता र कांग्रेस नेता/कार्यकर्ताले दबाब दिँदा पनि देउवा प्रतिक्रियाविहीन छन् ।


‘प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, प्रहरीका अधिकृतहरूलाई पनि पटकपटक फोन गरेर देउवाले आरजुको विषयमा सोधखोज गरिरहनुभएको छ । प्रहरी अधिकारीलाई दिनमा पाँच पटकसम्म फोन गर्नुभएको छ, सत्यतथ्य छानबिन होस् भन्नेमा ध्यान छैन, आरजुको नाम कुनै पनि अवस्थामा नआओस् भनेर दबाब दिइरहनुभएको छ,’ गृह मन्त्रालयका एक अधिकारी भन्छन्, ‘खाँण दम्पतीबाट आरजुको नाम नआओस् भन्नेमा पनि उहाँको चासो देखिन्छ ।’



तत्कालीन गृहमन्त्री खाँण थुनामा छन् भने पत्नी मञ्जु सार्वजनिक सम्पर्कबाहिर छिन् । जबकि प्रतिनिधिसभाकी सदस्यसमेत रहेकी उनले गत बुधबार सदनको शून्य समयमा बोल्न नाम पनि लेखाएकी थिइन् । तर पति पक्राउ परेपछि उनी संसद् गइनन् ।



अर्को दिनदेखि उनको मोबाइल बन्द (स्विच अफ) छ । फेसबुक ‘डिएक्टिभ’ गरिएको छ । भाइबर, ह्वाट्स एपमा पनि उनी छैनन् । मन्त्री निवासबाट बाहिरिएपछि खाँण मैजुबहालमा बस्दै आएका थिए भने मञ्जु कुपन्डोलमा बुबासँगै बस्थिन् । सार्वभौम संसद्की सदस्य, आफूमाथि गलत आरोप कसैले लगाए प्रस्ट बोल्न सक्ने मञ्च र शक्ति उनीसँग छ । मञ्जुले बोले आरजुको नाम आउने निश्चित भएको कांग्रेस सांसदहरूकै भनाइ छ ।



आफ्नी श्रीमतीलाई मात्र बचाउन खोजेको भन्दै कांग्रेसको संस्थापन पक्षकै सांसदको एक समूहले सभापति देउवालाई भेटेर चेतावनी दिएको छ । खाँण पक्राउ परेको र मञ्जु सम्पर्कविहीन भएको अर्को दिन कान्तिका सेजुवाल, नागिनाकुमारी यादव, सीताकुमारी राना, जवेदा खातुन, रूपा विक, सुशीला थिङलगायत सांसदले देउवालाई भेटेरै खबरदारी गरेका थिए । सहमहामन्त्री महेन्द्र यादवले कान्तिपुरसँग भने, ‘महिला सांसदहरूको टोलीले सभापतिलाई भेटेर आफ्नो चासो स्पष्ट राखेका छन् । खाँण दाइलाई फसाउन खोजिएको हो भन्ने कुरा प्रस्ट छ ।’



खाँण पक्राउ परिसकेपछि पनि मञ्जुसँग सम्पर्कमा रहेकी एक सांसदले भनिन्, ‘खाँण दाइ मात्रै किन ? त्यसभन्दा माथिका पनि तानिनुपर्छ, तानिएनन् भने हामी पनि चुप लागेर बस्दैनौं । हदै होला पार्टीको कारबाही भोगिएला । भोग्न तयार छौं ।’



सार्वजनिक भएको अडियोमा आरजुले साढे २ करोड र मञ्जुले ६ करोड रुपैयाँ लिएको दाबी गरिएको छ । ‘निष्पक्ष अनुसन्धान हुन्छ र सबै हिसाबकिताब आउँछ भने हामीलाई आपत्ति छैन,’ एक सांसदको भनाइ छ ।



भुटानी शरणार्थी प्रकरणमा मैले एक पैसा खाएको छैन । अडियो फेक हो । मञ्जुका बारेमा मलाई थाहा छैन । म उसको जिम्मेवारी लिन सक्दिनँ । ऊ मसँगै २४ सै घण्टा हिँड्ने मान्छे हो र ?’ उनले प्रतिप्रश्न गरेकी छन् ।



प्रहरीका पूर्वएआईजी प्रद्युम्न कार्की पनि तथ्य र प्रमाणले भेटेसम्म अपराधमा जोडिएकामाथि अनुसन्धान गर्न प्रहरी सक्षम रहेको बताए । शरणार्थी प्रकरणमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीकै पत्नी जोडिएको अडियो प्रकरणबारे पूर्वएआईजी कार्कीले ‘प्रमाणले पुष्टि गरेसम्म अपराधको अनुसन्धानमा व्यक्ति वा ओहोदा बिर्सिनुपर्ने बताउँछन् ।



अडियोका आधारमा पनि अनुसन्धान गर्नुपर्ने विज्ञहरूको धारणा छ । ‘घटनासँग जोडिएका तथ्य र प्रमाण जुटाउँदा बयान पनि एउटा महत्त्वपूर्ण पक्ष हो । बयान साक्षी प्रमाणका रूपमा एउटा हुन्छ भने अर्को ‘शंकास्पद व्यक्ति’ सँग सोधपुछ/केरकार,’ कार्की भन्छन्, ‘यदि शंकास्पद व्यक्तिको संलग्नता पुष्टि हुने अरू आधार भेटियो भने त्यस्तो व्यक्तिलाई थुनेर बयान लिइनुपर्छ । यो अनुसन्धानको स्वाभाविक प्रक्रिया पनि हो ।’ शरणार्थी प्रकरणसँग जोडिएको अडियो ल्याबबाट पुष्टि भए संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्