लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आज देशका १ सय ५० ठाउँमा डढेलो

IMG

तिलोत्तमा सिटी । बैशाष २९ गते । आगलागी र डढेलोका घटना फेरि बढ्न थालेका छन् । अहिले देशका १५० ठाउँमा डढेलो लागिरहेको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीले देखाएको छ । सबैभन्दा धेरै बाँके र सुर्खेतमा डढेलो लागेको छ । बाँकेका ३३ र सुर्खेतका २५ ठाउँमा डढेलो लागिरहेको छ । यस्तै, कैलालीका ९, सिन्धुली र बर्दियाका ८, कञ्चनपुर र सल्यानका ६, खोटाङ, दाङ र अर्घाखाँचीका ५ ठाउँ, दोलखाका ४, धनकुटा, अछाम, नुवाकोट, कपिलवस्तु, ओखलढुंगा, रामेछाप र स्याङ्जाका ३÷३ ठाउँमा डढेलो  लागेको छ । यसैगरी, मकवानपुर, पर्सा, प्युठान र तेह्रथुमका २÷२ ठाउँ तथा तनहुँ, सुनसरी, पाँचथर, काठमाण्डौ, काभ्रे, गुल्मी र भोजपुरका एक÷एक ठाउँमा डढेलो लागिरहेको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीले देखाएको छ । सुक्खापन बढेकाले आगलागी र डढेलो अझै फैलिने सम्भावना छ । आगलागी र डढेलाका कारण मानवीय क्षतिसमेत हुन थालेको छ ।



अर्घाखाँचीमा गएको मङ्गलवार  आगलागी हुँदा एकै गाउँका चार जना र दैलेखमा बुधबार  वनमा लागेको डढेलोमा परेर एक जनाको ज्यान गएको छ भने घाइते सात जनाको उपचार भइरहेको छ । केही दिन अघिसम्म तराई र मध्यपहाडी क्षेत्रमा रहेको डढेलो अहिले उच्च पहाडी र हिमाली क्षेत्रमा पनि देखिन थालेको छ । गएको १६ गतेदेखि झण्डै एक हप्ता पानी पर्दा डढेलोका घटना कम भएको थियो । तर त्यसपछि भने घाम चर्किन थालेको छ । गर्मी बढेको छ । यसले आगलागी र डढेलोका घटना बढेका छन् । धेरैजसो आगलागी र डढेलो मानवीय लापरबाहीकै कारण लाग्ने भएकाले  सचेत हुन र सावधानी अपनाउन विज्ञले आग्रह गर्दै आएका छन् । यस्तै, सुरक्षाको उपायविना डढेलो लागेको ठाउँमा नजान राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सुन्दरप्रसाद शर्माको सुझाव छ । 

कमेन्ट गर्नुहोस्