
तिलोत्तमा सिटी १६ बैशाख २०८०। राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं वैज्ञानिक महावीर पुनले आफ्नो माग पूरा नभएसम्म माइतीघरमा धर्ना नछोड्ने बताउनुभएको छ । हिजोदेखि धर्ना थालेका उहाँले माइतीघर चोकको सडकमै रात बिताउनुभएको छ । गएराति आफू धर्नास्थलमै सुतेको र आफूलाई १५÷२० जना साथीहरुले साथ दिएको उहाँले बताउनुभयो । अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा विकास बजेटको एक प्रतिशत रकम छुट्याउनुपर्ने लगायतका आफ्नो माग पूरा नभएसम्म धर्ना कायमै रहने उहाँको भनाइ छ ।
उहाँले अर्थतन्त्र सुधार गरी युवा जनशक्ति विदेश पलायन हुनबाट रोक्न सरकारले सहज वातावरण सिर्जना गर्नुपर्ने माग गर्नुभएको छ । अनुसन्धान, नवप्रवर्तन र आविष्कार प्रवर्द्धन, सञ्चालन तथा खरिद ऐन बनाउन तथा विकास बजेटको कम्तीमा एक प्रतिशत यस क्षेत्रमा छुट्याउन उहाँको माग छ । माग पूरा गराउनको लागि सरकारलाई दबाब दिन हिजोदेखि माइतीघरमा धर्ना सुरु गरेका वैज्ञानिक महावीर पुनलाई युवाहरुले साथ दिएका छन् ।
यसैबीच प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले, राष्ट्रिय आविष्कार केन्द्रका सभापति तथा म्यागसेसे अवार्ड विजेता महावीर पुनले राखेका मागप्रति गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ । प्रतिनिधिसभाको शुक्रबारको आकश्मिक समयमा बोल्दै सांसद घिमिरेले महावीर पुन जस्ता अनुसन्धानमा लागिपरेका व्यक्तिलाई प्रोत्साहन गर्ने वातावरण निर्माणमा लाग्न सरकारको ध्यानाकर्षण गराउनु भएको हो । पुनले अनुसन्धानको क्षेत्रमा गरेको योगदान आफैंमा प्रशंसनीय रहेको उल्लेख गर्दैै सांसद घिमिरेले पुनले राखेका जायज माग पूरा गराउन सरकार तत्पर हुनुपर्ने बताउनुभयो ।
कमेन्ट गर्नुहोस्