लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपालमा महाभूकम्प गएको आज आठ वर्ष पूरा, पुर्ननिमार्णको काम अधुरै

tillotmacitynews - 2023 Apr 25 09:37 AM
IMG

तिलोत्तमा सिटी । बेशाष १२ गते । गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको विनासकारी गोरखा भूकम्पको आज (मंगलबार) आठ वर्ष पूरा भएको छ । गोरखा भूकम्पको आठौँ स्मृति दिवस आज विविध कार्यक्रम गरी देशभर मनाइँदैछ ।  वि.सं. २०७२ वैशाख १२ गतेका दिन बिहान ११ बजेर ५६ मिनेटमा गएको ७.६ रेक्टरस्केलको भूकम्प गएको आज आठ वर्ष पूरा भएको हो । त्यसबेला भूकम्पमा परी ८ हजार भन्दा बढी मानिसको ज्यान गएको थियो भने हजारौं घाइते भएका थिए । हजारौं निजी तथा सार्वजनिक घर तथा भवनहरु ध्वस्त भएका थिए । यस अवधिमा निजी घरहरुको निर्माण तथा पुननिर्माण सकिए पनि ऐतिहासिक तथा साँस्कृतिक धरोहर तथा सम्पदाहरुको पुनर्निर्माण भने अझै पुरा हुन सकेको छैन । ८ लाख ३२ हजार ४ सय ७० पीडितले सरकारबाट पहिलो किस्ताको रकम लिएका छन् । तर, अझै ६६ हजार ६ सय ९ पीडितले हालसम्म दोश्रो किस्ता रकम नपाएको भवन निर्माण विभाग अन्तर्गतको केन्द्रीय योजना कार्यान्वयन इकाइले जनाएको छ । रकम लिएका मध्ये पनि कतिले घर बनाए भन्ने रेकर्ड सरकारसँग छैन ।



सरकारले १९ वटा जिल्लामा एकीकृत नमुना बस्ती निर्माण पनि गरेको छ । पुननिर्माणमा झण्डै चार खर्ब रुपैयाँ खर्च भइसकेको छ । तर, सरकारले डिजाइन गरेको भूकम्प प्रतिरोधी घरहरु सर्वसाधारणको आवश्यकता पूरा गर्ने खालको नहुँदा सर्वसाधारणले चासो दिन छाडेका छन् । सरकारले बनाएका अधिकांश एकीकृत नमुना बस्तीमा पनि मानिसहरु बसेका छैनन् । मान्छेले भूकम्प बिर्सिए पनि भूकम्पको धक्काले भने बेलाबेला सम्झाइ रहेको वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारी बताउनुहुन्छ । २०७२ सालको भूकम्पले सुरक्षित र बलिया घर÷भवन बनाउनुपर्छ भन्ने चेतना केही बढेको विज्ञको भनाइ छ । भूकम्प स्मृति दिवसका अवसरमा आज मंगलबार विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ । भूकम्पको सम्झनामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दातृ तथा सहयोगी निकायसँगको समन्वयमा आज र भोलि दुई दिने गोष्ठी गर्दैछ । त्यस्तै राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले पनि रुपन्देही लगायत देशैभरि बिबिध कार्यक्रमको आयोजना गरेको छ ।


कमेन्ट गर्नुहोस्