
तिलोत्तमा, २० फागुन २०७९। रुपन्देहीको रोहिणी गाउँपालिकाको आयोजनामा शुक्रबार देखि रोहिणी गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्षकप सुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’भन्ने नाराका साथ रोहिणी–३ स्वामीनगर, धकधई स्थित श्री रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता अन्तर्गत शिक्षक, कर्मचारी तथा जनप्रतिनिधि बीच भलिबल, विभिन्न विद्यालयका विद्यार्थी बीच एथलेटिक्स, कराँते लगायतका खेल हुने गाउँपालिकाका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेले बताए । प्रतियोगिता फागुन २१ गतेसम्म सञ्चालन हुने घिमिरेले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन गर्दै रोहिणी गाउँपालिकाकाअध्यक्ष तथा प्रतियोगिताका संयोजक विद्या प्रसाद यादवले कार्यक्रममा विभिन्न विद्यालयहरुको सहभागीता रहेको बताए । उनले आगामी वर्षहरुमा प्रतियोगितालाई अझ व्यवस्थित गर्दै लैजाने बताए । उनले भने, ‘यो प्रतियोगितालाई निरन्तरता दिदै जानुपर्छ । गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ति हरिजनले रोहिणी गाउँपालिकाले शिक्षासँगै खेलकुदलाई प्राथमिकता दिएको बताइन् । उनले गाउँपालिकाले खेलकुद क्षेत्रको विकासका लागि योजना बनाएर अघि बढ्ने बताइन् । रोहिणी–२ का वडा अध्यक्ष करम हुसेन खानले आगामी दिनमा पनि खेलकुद प्रतियोगिताआयोजना गर्दै जाने बताए । समाजसेवी हरिद्वार हरिजनले पढाइसँगै खेलकुद पनिआवश्यक भएको र खेलकुद प्रतियोगिताले विद्यार्थीहरुको मनोबल बढाउने बताए ।
श्री रामनरेश यादव आदर्श नमूना माविका प्रधानाध्यापक रामसुरेश वर्माको स्वागत तथा रोहिणी गाउँपालिकाका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा रोहिणी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्री, वडा नम्बर १ का अध्यक्ष आविद अली पठान, ४ का अध्यक्ष तारा नाथ यादव, ७ का अध्यक्ष अन्नान अहमद भाट, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।प्रतियोगिताको उद्घाटन अघि विद्यार्थीहरुले मार्चपास गरेका थिए ।त्यस्तै विद्यार्थीहरुले साँस्कृतिक प्रस्तुतितथा कराँते खेलाडीले खेल प्रदर्शन गरेका थिए ।
कमेन्ट गर्नुहोस्