लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘फूलबारी’ ट्रेलर : जिम्मेबार बनेका सहनशील बिपिन

IMG

तिलोत्तमा,२०७९ माघ ११ गते। दर्शकले औधी रुचाएका यस वर्षको रेकर्डब्रेक फिल्म ‘कबड्डी ४’का निर्देशक रामबाबु गुरुङद्वारा निर्देशित पछिल्लो फिल्म ‘फूलबारी’को ट्रेलर सार्वजनिक भएको छ । रुपन्देहीकै मेकर रहेको फिल्मको मंगलबार युट्युबमा सार्वजनिक गरिएको ४ मिनेट ९ सेकेन्डको ट्रेलरमा नेपाली समाजको उदेकलाग्दो पाटोलाई देखाउन खोजिएको छ । युवाको रोजाई भन्दा पर बुढेसकालमा माता-पिताप्रतिको जिम्मेवारीबाट सन्तानहरु कसरी पन्छिन खोजिरहेका छन् , पुस्ता हस्तान्तरणमा पारिवारिक झमेला के के हुन्छ भन्ने बिषयलाई ट्रेलरले बोलेको छ ।


ट्रेलरमा कलाकारहरु भर्सटायल एक्टर विपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, शिल्पा मास्के, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, लोकेन्द्र लेखक, साक्षी गुरुङलगायतलाई परिवार भित्रको कथामा स्थान दिइएको छ । ट्रेलरमा प्रियंका कार्की आफ्नो दुनो सोझाउन खोज्ने छुच्ची बुहारीको रुपमा चित्रित छिन्, भने बिपिन एक होनहार जिम्मेबार तथा सहनशील बाबुको रुपमा ट्रेलरमा बगेका छन्। करिब तीन हप्ता अगाडि युट्युबमा सार्वजनिक भएको फिल्ममा समावेश काली प्रसाद बासकोटाको आवाजमा रहेको ‘माया रैछ र’ बोलको गीत यतिबेला सर्वाधिक चर्चामा छ ।


आगामी फागुन ५ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउने तयारीमा रहेको ‘फूलबारी’लाई यशोधा फिल्मस्ले निर्माण गरेको हो । फिल्मको कथा रुपन्देही बासी यशोधा फुड्सका कमल किशोर मलपानी र पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन् । कालिप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत रहेको फिल्मलाई अमेरिकी छायाँकार जोस हेरमले खिचेका हुन् । मनिष ढकाल निर्माता रहेको फिल्ममा कार्यकारी निर्माताको रुपमा  नेपाली फिल्म जगतका चर्चित निर्माता मणीराम पोखरेल रहेका छन्। 


फिल्ममा गौमाया गुरुङ, रुजा राउत, रुपेश दाहाल, सुमित्रा गोम्जा, कायरा कार्की, सोफिया राईको पनि अभिनय छ । अभिभावक र सन्तानबीचको सम्बन्धको कथामा निर्माण भएको फिल्मले प्रायः नेपालीले भोगिरहेकै पारिवारिक कथालाई उठाएको निर्देशक गुरुङले बताए । रामबाबुको निर्देशन तथा दुई सफल कलाकार दयाहाङ-विपिनबीचको सहकार्यले ‘फूलबारी’प्रति दर्शकको प्रतिक्षा र अपेक्षा उच्च छ । यस्तो छ फिल्म फूलबारीको ट्रेलर:



कमेन्ट गर्नुहोस्