लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जिल्ला प्रशासन रुपन्देहीमा सेवा सहजका लागी “टाईम कार्ड” लागु

IMG

तिलोत्तमा,२०७९ माघ ५ गते। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बिहिबार देखि आफ्ना ४ वटा सेवामा टाईम कार्ड लागु गरेको छ । सेवामा सहजता ल्याउन तथा सेवामा समय प्रति देखिएको अन्यौलता हटाउन टाईम कार्ड लागु गरिएको हो ।जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालका अनुसार नया नागरिकता, नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचय पत्र तथा ई–पासपोर्टमा टाईम कार्ड लागु गरिएको छ । कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई समय नै तोकेर सेवा दिने तैयारी कार्यालयले गरेको अर्यालले बताए । “यस अघि पनि बडापत्रमा लेखिए अनुसार सोही दिन नै सेवा दिई रहेका थियौं, तर यसले कति घण्टा प्रतिक्षा गर्नुपर्ने भन्ने सेवाग्राहीमा अन्यौलता थियो ।” अर्यालले भने “टाईमकार्ड लागु भए पछि सेवाग्राहीले एउटा निश्चित समय पाउछ र सो समय सम्म उसले अन्य काम पनि सकाउन सक्छ ।”


अर्यालका अनुसार जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई समय सहितको एउटा टोकन वितरण गरिन्छ । टोकनमा सेवाग्राहीले सेवा पाईने समय र कोठा नम्बर उल्लेख हुन्छ । नया नागरिकताको हकमा प्रमाण पु¥याएर १२ बजे भित्र पेश भएका निवेदकहरुलाई १ बजे भित्र र दिउसो १२ बजेदेखि ३ बजे सम्म पेश हुन आएका निवेदकहरुलाई ४ बजे भित्र नागरिकता प्रदान गरिने अर्यालले बताए ।नागरिकता प्रतिलिपिको हकमा प्रमाण पु¥याएर पेश भएका निवेदकहरुलाई अभिलेख भिडेको १ घण्टा भित्र प्रतिलिपि दिईने छ । यस्तै अनलाईन फारम भरेर राष्ट्रिय परिचय पत्रका लागि आएका निवेदकले पनि १ घण्टा भित्रै सेवा पाउने अर्यालले दावी गरे । ई–पासपोर्टको लागि आउने सेवाग्राहीहरु प्रि–ईनरोलमेन्टको फारम भरेर आएकाहरुको तोकिएको दिन र समयमै ईनरोलमेन्ट हुने र केन्द्रबाट प्राप्त भएका ई–पासपोर्टहरु टोकन प्रणाली अनुसार सोही दिन समय तोकेर बितरण हुनेछ ।


जिल्लाको शुसासन अभिवृद्धि, विकास र समृद्धिको लागि जिल्ला प्रशासन कार्यालय रुपन्देही लागि परेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए । “यसको लागि प्रमाण पु¥याई सेवा प्राप्तीका लागि पेश भएका सेवाहरु सोही दिनमै दिने गरिएको छ ।” उनले भने “यसलाई अझै सहज बनाउन आजदेखि टाईमकार्ड लागु गरेका हौ, यसले सेवाग्राहीमा समयको सुनिश्चतताको साथै सेवा प्रतिको विश्वसनियता बढ्ने अपेक्षा राखेका छौ ।”पाण्डेले सेवाग्राहीको लागि टाईमकार्ड लागु गरे पनि गर्भवती महिला, अपाङ्गता भएका ब्यक्ति र जेष्ठ नागरिकलाई भने यो टाईम कार्ड नचाहिने बताए । उनले यस्ता सेवाग्राहीहरुको हकमा सोझै फाँटमा तोकिएको कर्मचारीलाई भेटेर सेवा लिन सकिने स्पष्ट पारे ।


जिल्ला प्रशासन कार्यालयमा रुपन्देहीमा दैनिक १ सय बढी नया नागरिकता, ८० बढी प्रतिलिपि, २ सय जना भन्दा बढीको राष्ट्रिय परिचय पत्र बन्ने गरेको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर कुवंरले बताए । यस्तै २ सय ५० बढी ई–पासपोर्टको बन्ने गरेको उनले बताए ।

कमेन्ट गर्नुहोस्