
तिलोत्तमा,२०७९ पौष २३ । बिगतका बर्षहरुमा जस्तै तिनाउ नदीको किनारमा माघी मेला गर्दै आएको रिभर साइड युथ क्लबको आयोजनामा यसबर्ष पनि पौष ३० र माघ १ गते भब्य माघी मेला गर्ने भएको छ। खेलकुदको क्षेत्रमा समेत आफुलाई अब्बल देखाएको क्लबले थारु संस्कृतिसंगै सबै जात अनि बर्गले मनाउदै आएको माघिलाई शृंखलाबद्ध रुपले मनाउने भएको छ।
क्लबले तिलोत्तमा-६ स्थित १० नम्बर कभर्ड हलमा पौष २६ गते प्रथम तिलोत्तमा स्तरिय ब्याडमिन्टन प्रतियोगिता, पौष २७ गते क्लब भवन तथा आमा समुहको भवनमा बृहत रक्तदान , पौष २८ गते मंगलबार मणिग्राम चोकदेखि पश्चिम रिभर साइड खेलमैदान गोरकट्टासम्मको १६ बर्षभन्दा माथिको म्याराथुन,पौष २९ गते करांते प्रतियोगिता र पौष ३० गते र माघ १ गते बृहत सांस्कृतिक कार्यक्रम गर्ने भएको छ। छैठौ रिभर साइड माघी मेला तथा प्रथम खेलकुद महोत्सव २०७९ नाम दिइएको सो मेलाको तयारि पुरा भएको आयोजक क्लबका अध्यक्ष दिवस थापाले बताए।
थारुका विभिन्न परिकारसंगै विभिन्न फुडस्टलहरुका माझ रमाइलो खेल साथै रमाइलो मेलामा सहभागी हुन आयोजक क्लबका अध्यक्ष दिवस थापाले सबैलाई आग्रह गरेका छन्। हाल सहयोगी हातहरुलाई पछ्याउदै हिडेका छौ, यो मेलालाई तिलोत्तमा कै उत्कृस्ट मेलाको रुपमा चिनाउने योजना छ , अध्यक्ष थापाले बताए। स्वर्गकी अप्सराको नामबाट पौराणिक कालमा परिचित तिलोत्तमाको किनार ऎतिहासिक स्थल गोरकट्टालाई चिनाउन पनि सो मेलाले ठुलो योगदान गर्ने अध्यक्ष थापाको भनाई छ। उनले भने : सबैको सहयोग आइरहेको छ, यस्तो सहयोगले झन् काम गर्ने र समाजमा केहि योगदान गर्ने हौसला बढेको छ , देश विदेशबाट सहयोग गर्ने तथा स्थानिय उद्योग, ब्यापार, संघ सस्था र स्थानियबासीले गरेको तन, मन र धनको सहयोगले पक्कै पनि मेलाले सार्थकता पाउने बिश्वास लिएको छु।यो मेला सबैको भएकाले मेलामा सक्दो सहयोग गर्न समेत उनले आग्रह गरेका छन्।
माघीको दिन र त्यस अघिल्लो दिनलाई भब्य रुपले सजावट गरि मेला स्थलमा बिशेष बनाइने उनको भनाई छ। सो दिनहरुमा ख्याति प्राप्त कलाकार लोक तथा दोहोरी गायक पशुपति शर्मा, हास्य कलाकार पुरुषोत्तम भण्डारी पुर्खे बा, लोक दोहोरी गायिका मन्जु भट्टराई, ख्यातिप्राप्त डान्सरहरु प्रनिश थापा र आशिका थापा सहित राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने क्लबले जनाएको छ।
कमेन्ट गर्नुहोस्