लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मङ्सिर ४ का लागि चुनावी प्रचारप्रसार सञ्चारमाध्यमबाट पनि गर्न पाउने

tillotmacitynews - 2022 Nov 02 12:19 AM
IMG

तिलोत्तमा, २०७९ साल १६ कार्तिक। आउँदो मङ्सिर ४ गते हुने आमनिर्वाचनमा सहभागी हुने राजनीतिक दलहरू तथा उम्मेदवारहरूले आफ्नो चुनावी खर्चको दायरामा रहेर विभिन्न सञ्चारमाध्यममा चुनावी प्रचारप्रसार गर्न पाउने भएका छन् ।निर्वाचन आयोगले सञ्चारमाध्यमको प्रयोग गर्दा अपनाउनुपर्ने आचरणसहित आफ्नो प्रचारप्रसार गर्न पाउने स्पष्ट पारेको छ ।विगतका निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले जथाभाबी सञ्चारमाध्यमको उपयोग गरेको पाइएकाले यसपालि त्यस्ता प्रचारप्रसारको निगरानी आयोगले गर्ने भएको छ । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगका साथै प्रेस काउन्सिलले पनि त्यसको निगरानी राख्नेछ । राजनीतिक दल वा उम्मेदवारले तोकिएको मापदण्डबाहिर गएर आफ्नो प्रचारप्रसार गरेमा उनीहरूलाई स्पष्टीकरण सोधिनेछ ।


आयोगले सार्वजनिक गरेको प्रचारप्रसार आचारसंहिताअनुसार कुनै पनि राजनीतिक दलले निजी क्षेत्रको टेलिभिजन, रेडियो वा एफएम रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा कम्तीमा एक घण्टाको अन्तरालमा २४ घण्टामा बढीमा चार पटक र एक पटकमा बढीमा एक मिनेटसम्म प्रसारण गर्न पाउनेछन् । त्यस्तै पत्रपत्रिकाको हकमा राजनीतिक दलले निजी क्षेत्रको पत्रपत्रिकामा सातरसात इन्चसम्मको आकारमा आफ्नो दलको चुनावी प्रचार गर्न पाउनेछन् । आमनिर्वाचनमा सहभागी हुने उम्मेदवारको हकमा प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारले एक दिनमा चार पटकसम्म निजी रेडियो तथा टेलिभिजनमा एक मिनेटको प्रचार सामग्री प्रसारण गर्न पाउनेछन् । प्रसारण लगातार नगरी एक घण्टाको अन्तराल कायम हुनुपर्नेछ । त्यस्तै प्रदेश सभाका उम्मेदवारले दिनको तीन पटकसम्म एक मिनेटको प्रचार सामग्री प्रकाशन, प्रसारण गर्न पाउनेछन् ।


उम्मेदवारको हकमा निजी पत्रपत्रिकामा चुनावी प्रचारप्रसारमा भने बन्देज लगाइएको छ । चुनावमा सहभागी हुने राजनीतिक दल तथा उम्मेदवारले कुनै पनि विदेशी सञ्चारमाध्यम र सरकारी सञ्चारमाध्मबाट भने कुनै पनि प्रकारको चुनावी प्रचारप्रसार गर्न नपाइने सहप्रवक्ता अर्यालले बताउनुभयो ।विगतको बेथिति रोक्न यस पटक आयोगले सञ्चारमाध्यम र सामाजिक सञ्जालको कडा नियमनकारी आचारसंहिता ल्याएको छ । उहाँले भन्नुभयो, “आयोगले स्थानीय निर्वाचनकै समयदेखि नै दुष्प्रचार नियमन, सामाजिक सञ्जाल प्रयोगमा नियमन गर्ने विषयमा जोड दिएको छ ।” दुष्प्रचारसहित मत माग्न पाइन्न, दुष्प्रचारमा अन्य व्यक्तिले सेयर, लाइक तथा कमेन्ट गर्न नपाइने व्यवस्था गरिएको छ तर चुनावी विषयमा जानकारी गराएका र राम्रा कुरामा भने त्यो लगाम छैन ।


राजनीतिक दल तथा उम्मेदवारले मतदानको १७ दिनअघिसम्म औपचारिक रूपमा प्रचारप्रसार गर्न पाउने छन् तर प्रचारप्रसारका क्रममा मञ्च, सञ्चारमाध्यमलगायतमा भएको खर्चको विवरण निर्वाचन सकिएको १५ दिनभित्र पेस गर्नुपर्ने हुन्छ । प्रचारप्रसारका क्रममा दुईवटाभन्दा बढी सवारीसाधनको प्रयोग गर्न नपाइने व्यवस्था छ ।तर विभिन्न निजी सञ्चारमाध्यमका उच्च पद तथा सञ्चालक समितिमा कायम रहेका उम्मेदवारको हकमा भने निर्वाचन आयोग मौन छ । देशभर त्यस्ता उम्मेदवार कति छन् र सञ्चारमाध्यममा लगानी रहेका राजनीतिक दलका विषयमा आयोगको आचारसंहितामा कुनै मापदण्ड तोकिएको छैन । 

कमेन्ट गर्नुहोस्