
तिलोत्तमा सिटी न्युज, भदौ १७ गते २०७९। बुटवल स्थित भाटभटेनि क्युएफएक्समा ‘सम्हालिन्छ कहिले मन’ ले आफ्नो ओपनिङ्गमा दर्शकको ओइरो राम्रै पायो। आजैबाट प्रदर्शनमा उत्रेको फिल्म लभस्टोरिमा मज्जाले घुमेको छ। फिल्मको कथाबस्तु हेर्दा सामान्य लागेपनि अन्तिमसम्म फिल्म हेर्नेलाई यसले कथामा बाध्न सफल भएको छ। त्रिकोणात्मक प्रेमकथाका धेरै फिल्म बनेपनि ‘सम्हालिन्छ कहिले मन’ ले दर्शकलाई रुवाई,हसाई र इमोशनल बनाउन पछिपर्दैन। फिल्मको क्लाइमेक्सपनि दर्शकले सोचेभन्दा केहि फरक र कलात्मक देखिन्छ त्यसले पनि दर्शकलाई फिल्म अबधीभरि मज्जाले बाधेर राख्न सक्छ।
अचेल नेपालमा कि कमेडी फिल्म बनिरहेका छन् कि त रोमान्टिक लभस्टोरी । र, लभस्टोरी धार समातेका निर्देशक हुन्, सुदर्शन थापा । ‘मेरो एउटा साथी छ’ र ‘प्रेमगीत’ जस्तो लभस्टोरीमा माइलस्टोन मानिने फिल्म दिएका उनी निर्देशित नयाँ लभस्टोरी फिल्म ‘सम्हालिन्छ कहिले मन’ले शुक्रवारबाट हलको दैलो टेकेको छ । फिल्मको भाग्य के लेखिएको छ, केही दिनमा पक्कै देखिनेछ ।
प्रदर्शनभन्दा अगाडि निर्देशक सुदर्शन थापा फिल्मको मेकिङलाई लिएर आत्मविश्वासी देखिएका थिए । बलिउडको ‘ए ग्रेड’को फिल्मसँग प्रतिस्पर्धा गर्न सक्ने ल्याकत ‘सम्हालिन्छ कहिले मन’सँग रहेको उनको तर्क थियो । सुदर्शनले भनेझैं फिल्ममा मेकिङ क्वालिटी उच्च छ । मेकिङमा निर्देशक र निर्माताबाट कुनै पनि कमजोरी र कम्प्राइज भएको देखिन्न । हरेक दृश्य टलक्क छन् ।
फिल्मको अधिकांश छायांकन यूकेका विभिन्न ठाउँमा भएको हो । तर, निर्देशकले यूकेको सुन्दरता देखाउने नाममा अनावश्यक दृश्य थोपरेका छैनन् । प्रायः लङ सट वा पृष्ठभूमिमै यूकेका दृश्यहरु खेलाइएको छ । यद्यपि, फिल्म हेर्दा यूके घुमेको भान हुन्छ । फिल्मको सबल पक्ष गीतसंगीत र छायांकन हो । कथाको भावअनुसार गीत समावेश गरिएको छ । हरेक गीतले मोहनी लगाउँछ ।
भनिन्छ, ‘छायाँकार निर्देशकको दोस्रो आँखा हो ।’ तर, ‘सम्हालिन्छ कहिले मन’मा निर्देशकभन्दा बढी मेहनत छायाँकारको देखिन्छ । छायाँकार सौरभ लामाले सिर्जेका प्रायः दृश्यले आँखालाई शित्तल बनाउँछ । गीतमा होस् वा पात्रको मूडअनुसार दृश्य कैद गर्न उनी चुकेका छैनन् । पात्र र कथा लड्बडिएको ठाउँमा पनि छायांकनले फिल्म थेगेको छ । यसअर्थमा उनी फिल्मका हिरो हुन् ।
फिल्ममा कलर र ब्याकग्राउन्ड स्कोरको काम राम्रो छ । तर, कथा भने फितलो छ । फिल्म पटकथा लेखनमा चुकेको भान हुन्छ । निर्देशकिय हिसाबले सुदर्शनको काममा चित्त बुझाउन त सकिन्छ तर, अब उनलाई यत्तिमै सीमित हुन भने छुट छैन । लभस्टोरीमा उनले फरकपन पस्किन जरुरी देखिन्छ । कलाकारले बोल्ने प्रेमिल र वियोगान्त संवाद मनछुने छन् । संवादले नै मन बहकाउँछ ।
फिल्मको मेरुदण्ड सोनम तोप्देन हुन् । उनले आफूलाई नयाँ कलाकार हुँ भन्ने आभास नै गराउन दिएका छैनन् । उनको अभिनय र डाइलग डेलिभरी प्रशंसायोग्य छ । सोनमको हाँसोले नै मन पगाल्छ । अभिनयमा आफूलाई निखार्दै लगे उनले फिल्ममा राम्रो भविष्य बनाउन सक्छन् । उनको टोन केही फरक लाग्छ तर मीठो सुनिन्छ । फिल्म हेरेर निस्कँदा पनि उनी आँखाबाट हट्दैनन् ।
पूजा शर्मा र आकाश श्रेष्ठको अभिनय पनि चित्त बुझ्दो छ । पूजा फिल्ममा पहिलो सिनदेखि अन्तिमसम्म छाएकी छन् । चुलबुले र गम्भीर दुवै खालको भावमा उनको अभिनय स्वभाविक लाग्छ । सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्य, मरिश्मा पोखरेलको अभिनय पनि राम्रो छ । प्रेम र वियोगको कथा मनपर्ने दर्शकहरुलाई फिल्म मन पर्न सक्छ । सोनमले भने ‘फ्यान’ नै बनाउनेछन् ।
बक्सअफिसमा पूजा भर्सेस केकी र आँचल
कोरोनाका कारण थन्किएका र कोभिड मत्थर भएपछि निर्माण भएका फिल्महरु यतिबेला एकपछि अर्को गर्दै प्रदर्शनमा आइरहेका छन् । असारयता हरेक हप्ता हलमा नेपाली फिल्म टुटेका छैनन् । फिल्मको चाप यो हदसम्म छ कि एकै मितिमा दुई/तीनवटा फिल्म भिडिरहेका छन् । यो हप्ताका लागि शुक्रवारबाट दुई फिल्म ‘सम्हालिन्छ कहिले मन’ र ‘झिँगेदाउ’ प्रदर्शनमा आएका छन् ।
दुवै फिल्मका नाम चलेका कलाकारहरुको अभिनय छ । ‘सम्हालिन्छ कहिले मन’मा पूजा शर्मा र आकाश श्रेष्ठ मुख्य भूमिकामा छन् । यही फिल्मबाट गायकको रुपमा चर्चित सोनम तोप्देनले नायकको रुपमा डेब्यू गरेका छन् । त्यस्तै, ‘झिँगेदाउ’मा केकी अधिकारी, आँचल शर्मा र मुकुन भुषालको मुख्य भूमिका छ । यो फिल्मले पनि नायकको रुपमा कुशल विष्टलाई जन्म दिएको छ ।
फिल्म क्षेत्रमा पूजा र आँचललाई एकअर्काको प्रतिस्पर्धी भनिन्छ । र, पहिलो पटक उनीहरुको फिल्म एकआपसमा भिडेको हो । जसले गर्दा यो भिडन्तलाई उनीहरुको स्टारडम मापनको रुपमा हेरिएको छ । दुवै फिल्मको भविष्य ‘वर्ड अफ माउथ’मा निर्भर छ । ‘झिँगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’ले मल्टीप्लेक्सहरुमा समान शो पाएका छन् भने सिंगल थिएटर पनि बराबरी जस्तै नै छ ।
कमेन्ट गर्नुहोस्