लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

म फेरी चितवनबाटै चुनाव लड्छु : प्रचण्ड

IMG

तिलोत्तमा सिटी न्युज, साउन २४ गते २०७९। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाटै उम्मेदवारी दिने बताएका छन् ।जापानमा रहेका उनले त्यहाँ नेपाली पत्रकारहरुसँगको कुराकानीमा विभिन्न जिल्लाबाट चुनाव लड्न प्रस्ताव आए पनि आफू चितवनबाटै उम्मेदवारी दिने बताएका हुन् ।‘मैले प्रष्टसँग ४–५ महिना अगाडिदेखि भनेको छु । म अन्तबाट होइन, चितवनबाटै लड्छु, चितवनको पनि क्षेत्र नम्बर ३ बाटै लड्छु’ उनले भने, ‘बरु तपाईंहरु जापानमा रहने साथीभाइहरुले पनि सहयोग गर्नुहोला ।’


देशको केन्द्रविन्दुमा रहेको र विकासको तीब्र गतिमा जाने सम्भवना भएकाले देशभरि सन्देश जाओस् भनेर चितवनलाई महत्व दिएको प्रचण्डले बताए ।‘मलाई चुनाव लड्नपर्‍यो भनेर रुकुम, गोरखा, धनुषा, सिरहा, कालीकोटका साथीहरुले भन्नुभएको छ, भित्रैदेखि भन्नुभएको छ’ उनले भने, ‘साथीहरुलाई प्रचण्ड आइदिएदेखि जिल्लाको विकास ब्यापक रुपले हुन्थ्यो, जिल्लाको पहिचान हुन्थ्यो भन्ने लागेको छ । तर साथीहरु सबैलाई धन्यवाद भन्दै म चाहिँ यसपटक चितवनबाटै लड्छु भनेको छु।’


प्रधानमन्त्रीको दौडमा छैन

प्रचण्डले आफू प्रधानमन्त्री बन्ने दौडमा भने नरहेको स्पष्टीकरण दिए । राजनीतिक स्थिरता र विकासको वातावरण बनाउन आफ्नो भूमिका भए पुग्ने उनले बताए।‘प्रधानमन्त्री बन्ने अफर मलाई धेरै आयो २०७४ पछि आयो, म प्रधानमन्त्रीको रेसमा छैन भनेँ मैले’ उनले भने, ‘अहिले पनि (प्रधानमन्त्रीको प्रस्ताव) छ, तर म प्रधानमन्त्रीको रेसमा छैन ।’चुनावपछि प्रधानमन्त्री हुन खोजेको भनेर हल्ला चलाइएको भन्दै प्रचण्डले भने, ‘म त्यस्तो छिनाझपटीमा छैन। म दुईचोटी प्रधनमन्त्री भइसकेको छु । मेरो चाहना देशमा सुशासन र विकासको वतावरण बनोस् भन्ने छ । त्यसमा योगदान गर्न मन छ । एकचोटी जीवनको बाँकी अवधि देशको विकासमा नयाँ मोडल दिन मन छ ।’


भौतिक पूर्वाधार विकास र विद्युतीकरणलाई तिब्रता दिएर कृषि र कृषिमा आधारित उद्योगमार्फत देशलाई ८–१० वर्षभित्रमा विकासको नयाँ युगमा लान सकिन्छ भन्ने सपना देखेको उनले बताए ।‘यो सपना देख्नु प्रधानमन्त्री बन्न हतारो गरेको भनेर बुझिन्छ भने यति ठूलो राजनीतिक परिवर्तनमा माओवादीले खेलेको भूमिका, प्रचण्डको भूमिकालाई मिनिमाइज र बदनाम गर्ने चाल मात्र हो’ उनले भने, ‘म अहिले रेसमा चाहिँ छैन ।’प्रचण्डले अघि भने, ‘अब विकास निर्माण र सुशासनको नेतृत्व गर्ने इच्छा छ । यो भनेको प्रधानमन्त्री बन्न खोज्यो भन्ने विल्कुल प्रचार नगरिदिनुहोला ।’

कमेन्ट गर्नुहोस्