लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मतदाता नामावली सङ्कलन स्थगित, अनलाईन फर्म भरेकालाई आइतबारसम्म म्याद

IMG

तिलोत्तमा सिटी न्युज, साउन २० गते २०७९। निर्वाचन आयोगले मतदाता नामावलीका लागि अनलाइनमार्फत आवेदन दिएकालाई भोलिसम्म औँठा छाप र फोटो लिने व्यवस्था गरेको छ ।अनलाइन प्रविधिमार्फत मतदाता नामावली सङ्कलनका लागि अनलाइन फारमभरि औँठा छाप र फोटो खिच्नका लागि आवेदन दिएकाको हकमा भोलिसम्म औँठा छाप र फोटो लिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । यसअघि नै फारम भरेका जसले साउन २० र २१ गते अर्थात आज र भोलिसम्मको समय लिनुभएको छ, उहाँहरुको सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा औँठा छाप र फोटो लिइने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।


निर्वाचन आयोगले नमुनाका रूपमा आठ जिल्लामा अनलाइन फारम भर्ने व्यवस्था मिलाएको थियो । काठमाण्डौ, ललितपुर र भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, कास्की, मोरङ र झापामा जिल्ला निर्वाचन कार्यालयबाट अनलाइन फारम भर्न सक्ने व्यवस्था गरिएको थियो । आजदेखि मतदाता नामावली सङ्कलनको काम भने स्थगित भएको छ ।

सरकारले हिजो आउँदो मंसिर ४ गते एकैचरणमा गर्नेगरी प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मिति घोषणा गरेपछि आयोगले मतदाता नामावली सङ्कलनको काम आजदेखि स्थगित गरेको हो । यसअघि आयोगले गएको असार एक गतेदेखि मतदाता नामावली सङ्कलन सुरु गरेको थियो ।


मतदाता नामावली ऐन, २०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट भइरहेको मतदाता नामावली सङ्कलनको काम आजदेखि स्थगित भएको आयोगले जनाएको छ ।आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलका अनुसार निर्वाचन  आयोगले  मतदाता  नामावलीबाट  मृतक मतदाताको नाम हटाएर अद्यावधिक गर्ने कार्य पनि आजैदेखि सुरु हुनेछ । आयोगले मतदाता नामावली सङ्कलन गरेपछि नियमित रूपमै अद्यावधिक गर्ने कार्य गर्दै आएको छ ।


चुनावको तयारी पूरा गर्न आयोगलाई १ सय २० दिनको समय माग गरे पनि सरकारले १ सय ७ दिन मात्रै दिएको छ । तर अब निरन्तर चुनावका काम अगाडि बढ्ने र तोकिएको मितिमा चुनाव सम्पन्न गर्न सक्षम रहेको आयोगले जनाएको छ ।२०७४ सालको चुनाव र गएको वैशाखमा भएको पालिका चुनावमा मतदान केन्द्र मतदातामैत्री नभएको गुनासोपछि अबको चुनावमा सकेसम्म पुनरावलोकन गर्न लागिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताउनुभएको छ ।आयोगका अनुसार अहिलेसम्म १ सय १४ वटा दल दर्ता भएका छन् । तर पहिल्यै दर्ता भएका दलले पनि निर्वाचन भाग लिने प्रयोजनका लागि पुनः दर्ता गर्नुपर्ने हुन्छ । आइतवारदेखि चुनावकाे प्रयोजनका लागि दल दर्ता प्रक्रिया अघि बढाउने तयारी गरेको आयोगका प्रवक्ता पौडेलले जानकारी दिनुभयो 

कमेन्ट गर्नुहोस्