
तिलोत्तमा सिटी न्युज, साउन २० गते २०७९। निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका वृद्धवृद्धा र कैदीबन्दीलाई मतदान गर्न दिने तयारी गरेको छ ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उनीहरुलाई अस्थायी मतदाताको रुपमा मतदान गर्न दिने माग सकेसम्म पूरा गर्ने आश्वासन दिएका छन् । तर उनीहरुले समानुपातिक निर्वाचन पद्धतितर्फ मात्र मतदान गर्न पाउनेछन् ।बिहीबार आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘यो विषयलाई आयोगले गम्भीरतापूवक लिएको छ ।
सम्भवत यो माग पूरा हुन्छ, हामी यसलाई व्यवस्थापन गर्ने तयारीमा छौं ।’स्थानीय तह निर्वाचनमा कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका वृद्धवृद्धा र कैदीबन्दीले मतदान गर्न पाएका थिएनन् । तर त्यसपछि एक रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले उनीहरुलाई अस्थायी मतदाताको रुपमा मतदान गर्न पाउने व्यवस्था गर्न आदेश दिएको थियो ।प्रमुख आयुक्त थपलियाले स्थानीय तह निर्वाचनमा अस्थायी मतदातालाई मतदानको व्यवस्था गर्न नसके पनि अब सर्वोच्च अदालतको आदेश अनुसार अस्थायी मतदातालाई समानुपातिक पद्धतितर्फ मतदानको व्यवस्था गर्न तयारी गर्ने बताएका हुन् ।
कमेन्ट गर्नुहोस्