लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पैसा तिर्न नसकेपछि जंगलमा लगी ट्रकधनीको हत्या,पक्राउ परे ४३ वर्षीय कुलचन्द्र

IMG

तिलोत्तमा सिटी न्युज, साउन १४ गते २०७९।अर्घाखाँचीको मालारानी गाउँपालिका–२ घर भई बुटवल बेलबासमा बस्ने विष्णुबहादुर पाण्डेको हत्या लेनदेनको कारण भएको खुलेको छ । उनको हत्या आरोपमा प्रहरीले अर्घाखाँचीकै पाणिनी गाउँपालिका–२ घर भई रुपन्देहीको सैनामैना–६ कलौनी बस्ने दीपक भन्ने ४३ वर्षका कुलचन्द्र गौतमलाई पक्राउ गरेको छ ।पाण्डेसँग किनेको ट्रकको पैसा तिर्न नसकेपछि गौतमले कालिज मार्न जाने बहाना बनाएर जंगलमा लगी हत्या गरेको खुलेको प्रहरीले बताएको छ ।


प्रहरीका अनुसार पाण्डेको लु १ ख ७७८१ नम्बरको ट्रक गौतमले पछि रकम तिर्ने शर्तमा किनेका थिए । उक्त रकम दिने भन्दै गौतमले पाण्डेलाई ९ साउनमा बुटवलबाट अर्घाखाँचीको पाणिनी पुर्‍याएका थिए । तर घरमा पुगेपछि परिवारले रकम नभएको बताएपछि कुलचन्द्रले योजनावद्ध रुपमा हत्याको योजना बनाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी ठगबहादुर केसीले बताए ।१० साउनमा गौतमले पाण्डेलाई कालिज मार्न जाऔं भनी पाणिनी गाउँपालिका–२ डांडाकटेरीस्थित सिद्ध सामुदायिक वनको जंगलमा पुर्‍याएका थिए । त्यहाँ पाण्डेलाई फलामको रडले पछाडिबाट टाउकोमा प्रहार गरी भीरबाट खसालेर हत्या गरेको अनुसन्धानबाट खुलेको केसीले बताए ।


पाण्डे सम्पर्कविहीन भएपछि छोरी शीला पाण्डेले साउन ११ गते इलाका प्रहरी कार्यालय बुटवलमा खोजी गरिदिन निवेदन दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको टोलीले खोजतलास गर्दा साउन १४ गते दिउँसो ३ बजे पाणिनी–२ डांडाकटेरीस्थित सामुदायिक वनमा पाण्डे मृत अवस्थामा फेला परेका थिए ।अनुसन्धानको क्रममा गौतमलाई १५ गते बिहान बेलहिया नाकाबाट पक्राउ गरिएको डीएसपी केसीले बताए । हत्यामा प्रयोग भएको फलामको मोटो रड गौतमको बुटवल मैनाबगरस्थित जय मोटरपार्टस्मा लुकाइ राखेको अवस्थामा फेला पारी बरामद गरिएको प्रहरीले बताएको छ ।


घर निर्माण र मोटरपार्टस पसल सञ्चालन गर्दाको ऋणका कारण ट्रक किनेको रकम तिर्न नसकेपछि हत्याको योजना बनाएको अनुसन्धानबाट खुलेको डीएसपी केसीले बताए ।

कमेन्ट गर्नुहोस्