
तिलोत्तमा सिटी न्युज, साउन १३ गते २०७९। परराष्ट्रमन्त्री नारायण खड्काले एसपीपी बारे संसदमा सार्वजनिक रुपमा उठेका प्रश्नहरुको जवाफ दिने भएका छन् । सरकारले गत ६ असारमा एसपीपी अगाडि नबढाउने निर्णय गरेको थियो । उक्त निर्णयबारे अमेरिकालाई जानकारी दिन पत्र नपठाएको भनी सरकारमाथि संसद र सार्वजनिक रुपमा प्रश्न उठ्दै आएको छ ।
४ साउनमा नेकपा एमालेका सांसद भीम रावलले एसपीपीमा संलग्न नहुने निर्णय अमेरिकालाई जानकारी नगराइएको भनी ‘रोष्ट्रम कब्जा (रोष्ट्रममा उभिएर अमेरिकालाई पत्र पठाउन निरन्तर माग, सरकारलाई रुलिङ गर्न आग्रह) गरेका थिए । रावलले रोष्ट्रम नै कब्जा गरेपछि उक्त बैठक स्थगित हुन पुगेको थियो । निरन्तर प्रश्न उठेपछि सभामुख अग्निप्रसाद सापकोटाले ५ साउनमा सरकारलाई एसपीपीबारे भएको गतिविधिबारे जानकारी गराउन रुलिङ गरेका थिए । सोही रुलिङको पालना गर्दै शुक्रबार परराष्ट्रमन्त्री खड्काले प्रतिनिधिसभामा जवाफ दिन लागेका हुन् ।
यसैबीच दुई दिने नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग राजनीतिक भेटवार्ता गर्दैछन्।
कमेन्ट गर्नुहोस्