
तिलोत्तमा सिटी न्युज, असार ३० गते २०७९ । बलरहरूको उच्च प्रदर्शन र आसिफ शेखको सानदार अर्धशतकमा नेपालले विश्वकप क्रिकेट लिग २ मा बुधबार स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको छ । स्कटल्यान्डमाथि नेपालको यो पहिलो विजय हो।आईसीसी पुरुष विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा स्कटल्याण्डलाई पराजित गरेको छ । गए राति सम्पन्न खेलमा नेपालले स्कटल्याण्डलाई पाँच विकेटले हराएको हो । स्कटल्याण्डको ग्लास्गोस्थित टिटउड क्रिकेट मैदानमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको थियो । स्कटल्याण्डले ब्याटिङ गर्ने क्रममा ४२.५ ओभरमा सबै विकेट गुमाउँदै १४४ रन बनायो । एक सय ४५ रनको विजयी लक्ष्य नेपालले २५.१ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । नेपालको जीतमा आसिफ शेखको ७१ रन सामेल थियो । उनले ६२ बल खेल्दै एक छक्का र १० चौका प्रहार गरे । यस्तै कुशल भुर्तेलले २७ रन, देव खनालले ४, दीपेन्द्रसिंह ऐरीले ३ तथा आरिफ शेखले १ रन बनाए । रोहितकुमार पौडेल ३४ रनमा अविजित रहे ।
बलिङतर्फ स्कटल्याण्डका गाभिन मेनले ३ तथा एड्रिन निल र रिची बेरिङटनले १/१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ गर्ने क्रममा स्कटल्याण्डका लागि गाभिन मेनले अविजित ६४ रन बनाए । मार्क वाटले १७, साफ्यान शारिफले १६ र कलुम म्याकलोडले १३ रनको योगदान दिए । बलिङतर्फ नेपालका सोमपाल कामी र मोहमद आदील आलमले ३/३, कप्तान सन्दीप लामिछानेले २ तथा करण केसी र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए ।
लिग २ मा आफ्नो पाँचौं शृंखला खेलिरहेको नेपाल सोमबार नामिबियासँग ४० रनले पराजित भएको थियो । स्कटल्यान्डले आइतबार शृंखलाको पहिलो खेलमा नामिबियालाई ७७ रनले पराजित गरेको थियो । स्कटल्यान्ड २२ खेलमा ३० अंकसहित दोस्रो स्थानमा छ । नेपाल १८ खेलमा १७ अंकसहित सात राष्ट्र सहभागी लिग २ को अंक तालिकामा पाँचौं स्थानमा उक्लेको छ । नामिबियाको १६ खेलमा १६ अंक छ । समान ३६ खेल खेलेपछि लिग २ को शीर्ष ३ मा पर्ने टोलीले २०२३ को जुन–जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छ । शीर्ष ३ सँगैं लिग २ को चौथो र पाँचौं स्थानमा रहने टोलीले अर्को चार वर्षका लागि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्ने छ ।
कमेन्ट गर्नुहोस्