
तिलोत्तमा सिटी न्युज, असार १४ गते २०७९। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सहभागी हुने तत्कालीन प्रधानसेनापतिले लेखेको पत्रमा मिति संशोधन गरिएको दाबी गरेका छन् । मदन भण्डारी जयन्तीको अवसरमा मंगलबार आयोजित कार्यक्रममा ओलीले २७ अक्टोबर २०१५ मा आफू प्रधानमन्त्री भएको बेला पत्र पठाएको भनिए पनि त्यसअघि नै पत्र पठाइसकेको हुन सक्ने दावी गरे ।
उनले हाल सार्वजनिक भएको तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले पठाएको पत्रको मिति संशोधन गरिएकझ भन्दै वैधानिकतामा प्रश्न उठाए । एसपीपीमा विवाद भइरहेका बेला ओली प्रधानमन्त्री भएको ३ दिनपछि तत्कालीन प्रधानसेनापतिले अमेरिकी राजदूतलाई पत्र पठाएको हालै सार्वजनिक भएको थियो । ओलीले आफूलाई बद्नाम गर्ने उद्देश्यका साथ टिपेक्स लगाएर पत्र सार्वजनिक गरिएको दावी गरे । उनले भने, ‘म प्रधानमन्त्री हुनु भन्दा अगाडिको हुनसक्छ । टिपेक्स लगाएर हातले लेखेको स्पष्ट हुन्छ । हातले नलेखेको कहिलेको मितिमा पठाएको हो, त्यो ल्याऊ ।
ओरिजिनल पत्र देखाऊ ।’ उनले आफू प्रधानमन्त्री नहुँदै सेनाले अमेरिकी दूतावासमा पत्र पठाएको दावी गरे । ‘म प्रधानमन्त्री नहुँदै अमेरिकी एम्बेसीमा पठाएको हो, अमेरिकी एम्बेसीले पनि सत्य बोलोस् नभए चलानी नम्बर किन हातले लेखेको ?’ उनले प्रश्न गरे ।
कमेन्ट गर्नुहोस्