लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पल शाहलाई थुनामा पठाउन अदालतको आदेश

IMG

तिलोत्तमा सिटी न्युज, जेष्ठ १९ गते २०७९।  एक नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोग लागेका अभिनेता तथा मोडल पल शाहलाई थुनामै राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन उच्च अदालत पोखराले आदेश दिएको छ । बिहीवार उच्च अदालतका न्यायाधीशद्वय उज्ज्वल शुक्ला र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलाशले जिल्ला अदालत तनहुँ र पुर्वी नवलपरासी अदालतको आदेशलाई नै सदर गरेको हो । 

 

गत चैत १० गते अदालत तनहुँ अदालतका न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले अभिनेता शाहलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो । त्यसको केही दिनपछि पूर्व नवलपरासी जिल्ला अदालतले पनि पललाई पुर्पक्षका लागि थुनामै पठाउने आदेश दिएको थियो । दुवै अदालतको आदेशविरुद्ध पलका वकिलले उच्च अदालत पोखरामा पुनरावेदन चढाएका थिए ।बिहीवार उच्च अदालत पोखरामा पल शाहको तर्फबाट कमलामोहन वाग्ले, भानुभक्त सुवेदी, माधव घिमिरे, जगदीश पाण्डे र मिलनध्वज शाहीले बहस गरेका थिए भने जाहेरीकर्ताको तर्फबाट सरकारी वकिल ईश्वरीप्रसाद ढकालले बहस गरेका थिए । शाहविरुद्ध जाहेरी दिने नाबालिग र उनका पिताले तनहुँ र नवलपरासीको अदालतमा बकपत्र गर्ने क्रममा बयान फेरिसकेका छन् ।

 

नाबालिगका बाबुले पलविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा गत फागुन ११ मा किटानी जाहेरी दिएका थिए भने फागुन १५ गते नवलपरासी प्रहरीमा पनि जबर्जस्ती करणीको अभियोगमा मुद्धा दर्ता गरेका थिए । यही दिन शाहले तनुहँ प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए । तनहुँले २१ दिन र नवलपरासी प्रहरीले शाहमाथि ७ दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।दुवै जिल्लाका प्रहरी कार्यालयले अनुसन्धान सकाएर सरकारी वकिलको कार्यालयमा मिसिल बुझाएपछि तनहुँ र नवलपरासी दुवै अदालतमा मुद्धा दर्ता भएको थियो । शाहविरुद्ध दुवै जिल्लाको सरकारी वकिलको कार्यालयले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार १२ देखि १४ वर्ष सजाय र चार लाखसम्म जरिवानाको माग दाबी गर्दै मुद्धा दर्ता गरेका थिए । 

 

तनहुँ र नवलपरासीको प्रहरी कार्यालयमा नाबालिगका बुबाले दिएको जाहेरीमा पल शाहले विभिन्न ठाउँमा पटक-पटक छोरीलाई जबर्जस्ती करणी गरेको उल्लेख छ । तर, पछि दुवै जिल्लाको अदालतमा बकपत्र गर्ने क्रममा नाबालिगले आफूलाई शाहले करणी नगरेको भन्दै बयान फेरेकी थिइन् । उनका बुबाले पनि ‘पछि बुझ्दै जाँदा त्यस्तो केही नभएको रैछ’ भन्दै बयान फेरेका थिए । 

कमेन्ट गर्नुहोस्