लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

२० पुगेर २१ लाग्दा सम्म रहस्यकै गर्भमा ‘दरवार हत्याकाण्ड’

IMG

तिलोत्तमा सिटी न्युज, जेष्ठ १९ गते २०७९। त्यो कालो दिन २०५८ साल जेठ १९ गते । अर्थात २१ वर्षअघि आजकै दिन तत्कालीन राजा वीरेन्द्रको वंशनास हुने गरी भएको अकल्पनीय ‘दरवार हत्याकाण्ड’ अझैपनि रहस्यमयनै छ । ‘दरवार हत्याकाण्ड’ का रुपमा परिचित यो घटना भएको आज २० वर्ष पूरा भएर २१ वर्ष लागेको छ । घट्नामा राजा वीरेन्द्र शाहसहित उनको परिवारका १० जना सदस्यको हत्या भएको थियो जसलाई अझै पनि ‘दरबार हत्याकाण्ड’का नामले चिनिन्छ ।


तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले त यो घटनालाई ‘ग्राण्ड डजाइन’को संज्ञा नै दिएका थिए । तर त्यो हत्याकाण्डको ग्राण्डडिजाइन कसले गरेको हो भन्ने अझै रहस्यकै गर्भमा लुकेको छ । नेपालको इतिहासकै सबैभन्दा अकल्पनीय र रहस्यमय घटनाको रुपमा लिइएको यस हत्याकाण्डमा तत्कालीन राजा वीरेद्रसहित रानी ऐश्वर्य, युवराज दिपेन्द्र र निराजन तथा युवराज्ञी श्रुती, अधिराजकुमार धिरेन्द्र, अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह लगायतको हत्या भएको थियो ।


यो घट्नामा पूर्वराजा ज्ञानेन्द्र, पत्नि कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए । दरवार हत्याकाण्डको छानबिन गर्न तत्कालिन सर्वोच्च अदालतका प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय, सभामुख तारानाथ रानाभाट र तत्कालिन नेकपा (एमाले) नेता माधवकुमार नेपाल रहेको उच्चस्तरीय छानबिन समिति गठन गरिएको थियो । तर लगत्तै माधव नेपाल त्यो समितिमा बस्न मान्नुभएन । उहाँले बताउनभएको कुरा यस्तो छः


म तपाईंहरुलाई एउटा प्रसंग सुनाउँछु । दरवार हत्याकाण्डको भोलिपल्ट बेलुकी सैन्य अस्पतालमा एउटा बैठक बसेको थियो । त्यहाँ ज्ञानेन्द्र, राजपरिषद्को अध्यक्षको हैसियतले ज्ञानेन्द्र, प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, सभामुख तारानाथ रानाभाट, राष्ट्रिय सभाका अध्यक्ष मोहम्मद मोहसीन, प्रतिपक्षी दलका नेताको हैसियतले म, राजसभा स्थायी समितिका सभापति केशरजंग रायमाझी, प्रधानन्यायाधीश केदारप्रसाद उपाध्याय र पशुपतिभक्त महर्जन समेतको बैठक बस्यो । त्यहाँ गिरिजाबाबुले मलाई तपाईं बोल्नुहोस् भन्नुभयो । मैले दरवार हत्याकाण्डको छानबिन आयोग गठन हुनुपर्छ भनें तर ज्ञानेन्द्र त्यसका लागि तयार भएन । उनले पत्रकार सम्मेलन गरेर सबै कुरा क्लियर गरिदिन्छु भने । मैले कसैले पत्याउँदैन, त्यो हुँदैन, प्रधानन्यायाधीशको अध्यक्षतामा आयोग बनाउनुपर्छ भनें र त्यसको लागि जोड दिने काम गरें । अन्ततः आयोग बनाउने टुंगोमा पुगेपछि र त्यहाँ मेरो नाम पनि राखिएपछि मैले टाउको मात्र हल्लाएँ, विरोध गरिनँ । मैले ठानेको थिएँ, त्यसमा गिरिजाबाबु पनि रहनुहोला । तर पछि कांग्रेस नरहने म मात्रै रहने भएपछि म त्यसमा बस्न सहमत भइनँ । कांग्रेसको कोही नबस्ने, म मात्र बस्नुपर्ने हो भने त म फँस्ने भइहालें नि १ कांग्रेसले त जहिले पनि एमालेलाई औंला देखाइरहने भयो, यही हो, दरवार हत्याकाण्डको रहस्य पत्ता लगाउन नसक्ने भनेर । त्यो पत्ता लाग्ने घटना नै थिएन । मान्छे मरिसकेको छ, मैले गरेको हुँ भनेर कसैले मान्नेवाला छैन । त्यसको आधारमा रिपोर्ट ल्याउँदा के हुन्छ रु अतः म त्यसमा बस्न मानिनँ ।


जेहोस्, माधव नेपाल बस्नु नमानेपछि पनि सो समितिले छानविनको कर्मकाण्ड चाहिँ गरेको थियो । समितिले पेश गरेको प्रतिवेदनमा देवयानी राणासँग प्रेम सम्बन्धमा रहेका युवराज दीपेन्द्रले उक्त हत्या गरेको देखाएको थियो । प्रतिवेदनमा देवयानी र आफूबीचको विवाहको प्रस्तावलाई राजपरिवारले अस्वीकार गरेकाले हत्याकाण्ड मच्चाएको प्रतिवेदनमा उल्लेख छ । तर, उक्त प्रतिवेदनप्रति आमजनता अझै विश्वस्त हुन सकिरहेका छैनन् ।


यो अवधिमा दरबार हत्याकाण्डको रहस्य खोल्ने भन्दै धेरै पुस्तकहरु पनि लेखिए तर, हत्या यसैले गरेको हो भनेर कसैले किटान गर्न सकेका छैनन् । लेखक कृष्ण अविरलको ‘रक्तकुण्ड’, तत्कालीन सैनिक सचिव विवेककुमार शाहले ‘मैले देखेको दरबार’ लगायतले दरवार हत्याकाण्डका बारेमा पुस्तक लेखेर दोषी चित्रण गरिएपनि सर्वसाधारणले भने अझै पत्याउन सकिरहेका छैनन् । हत्या काण्डपछि राजा ज्ञानेन्द्र झण्डै ४ बर्ष कार्यकारी अधिकारसहितको राजा बनेपनि उक्त घट्नाको सत्यतथ्य बाहिर नल्याएको भन्दै सर्वसाधारणले उनीमाथि समेत औँलो ठड्याउने गरेका छन् । साभार श्राेत : राताेपाटी

कमेन्ट गर्नुहोस्