लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलका धिरज थापाले जिते ‘कठपुतली’ हेरेर ‘आइफोन १२’

IMG

तिलोत्तमा सिटी, बैशाख १४ गते २०७९।  गत बर्षको पुष १६ गते प्रदर्शनमा आएको व्यावसायिक सफल फिल्म ‘कठपुतली’ले दर्शकलाई हलसम्म आकर्षित गर्नका लागि उपहार योजना अगाडि सारेको थियो । फिल्म हेर्नका लागि हलको काउन्टरबाट काटेको टिकटसँग सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नेहरुमध्ये गोला प्रथाबाट एक जनालाई एप्पल कम्पनीको ‘आइफोन १२’ प्रदान गर्ने घोषणा गरिएको थियो । 

 

सोही घोषणा बमोजिम निर्माण टिमले ‘आइफोन १२’ जित्ने विजेताको नाम गोला प्रथाबाट छानेको छ । फिल्मको टिमले जारी गरेको सम्पूर्ण मापदण्ड पूरा गरेर टिकटसँग सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नेमध्ये धिरज थापाले १ लाख ३० हजार मुल्यको ‘आइफोन १२’ जितेका छन् । मंगलवार फिल्मका अभिनेता कार्म शाक्यले गोला प्रथाबाट विजेताको नाम घोषणा गरेका हुन् । 

 

सेल्फी पोष्ट भएको फेसबुक अकाउन्टबाट धिरज थापाले बुटवलको क्युएफएक्स हलमा फिल्म हेरेको देखिन्छ । विजेता थापाले ७ जनवरीमा ‘कठपुतली’ हेरेका थिए । फिल्मकी कार्यकारी निर्मात्री तथा लेखक सम्पदा मल्लले विजेता थापासँग सम्पर्क गरेर उपहार हस्तान्तरण गर्ने बताइन् । उनले विजेता थापालाई उपहार ग्रहण गर्नका लागि आफूहरुसँग सम्पर्क गर्न पनि आग्रह गरेकी छन् ।

 

फिल्मको प्रिमियर र रिलिजमा नेपाल हुन नपाउँदा खल्लो महशुस भएको बताउँदै कार्मले फिल्मबाट मिलेको प्रतिक्रियाले उत्साहित भएको बताए । उनले भने, ‘म स्क्रिप्ट पढ्दा नै उत्साहित थिएँ । फिल्म हेरिसकेपछि झन् आशा जगायो । मलाई घिसिपिटी लभस्टोरी र फर्मुलाको फिल्म गर्नु छैन । फरक फिल्म गर्न चाहन्छु । भोलीका दिनमा पनि ‘कठपुतली’ जस्तो फिल्म गर्ने मन छ ।’

 

पृथ्वी राना मगरद्वारा निर्मित तथा भिमसेन लामा निर्देशित फिल्ममा मिथिला शर्मा, गौरी मल्ल, कर्मा, उषा रजक, शिल्पा मास्के, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको अभिनय रहेको छ । जोएल फ्रूमले खिचेका फिल्मका निर्माता पृथ्वी रानामगर हुन भने सह निर्माताहरुमा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । हरर जनरामा बनेको फिल्मले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको थियो ।


कमेन्ट गर्नुहोस्