
२०७८ फागुन २०, तिलोत्तमा सिटी । रोजगारीका लागि भारतका विभिन्न सहरमा रहेका बैतडीकाे दशरथचन्द नगरपालिकाका आप्रवासी श्रमिकको निःशुल्क जीवन बीमा गरिने भएको छ । नगरप्रमुख नरेन्द्रसिंह थापाका अनुसार दशरथचन्द नगरपालिका र रुडेस बैतडीको संयुक्त सहकार्यमा आप्रवासी श्रमिकको दुर्घटना बीमा गरिन लागिएको हो। नगरपालिकाले कार्यविधि बनाएर आप्रवासी श्रमिकको बीमा गर्ने निर्णय गरेको नगरउपप्रमुख मीना चन्दले जानकारी दिनुभयो । वार्षिक एक हजार रुपैयाँमा पाँच लाखसम्मको दुर्घटना बीमा गर्न सकिनेछ ।
रोजगारीका लागि भारत गएका नागरिक विभिन्न समस्यामा पर्न सक्ने भएकाले जोखिम न्यूनीकरणका लागि बीमा अनिवार्य रहेको रुडेस कार्यकारी निर्देशक गोविन्दराज जोशीले जानकारीदिनुभयो । उहाँले भन्नुभयो, “दशरथचन्द घर भएर भारतमा काम गर्ने आप्रवासी श्रमिकको तथ्याङ्क सङ्कलन गर्ने र त्यसपछि उनीहरुको बीमा गरिनेछ ।” यसअघि जिल्लाको पाटन नगरपालिकाले पनि आप्रवासी श्रमिकको दुर्घटना बीमा गर्दै आएको छ ।
कमेन्ट गर्नुहोस्