
२०७८ फागुन १५ , तिलोत्तमा सिटी । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगारीलाई सूचिकृत हुन आग्रह गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत मन्त्रालयले आर्थिक अवस्था न्यून रहेका १८ देखि ५९ वर्ष उमेर समूहका बेरोजगारहरुसँग निवेदन संकलन शुरु गरेको हो ।प्रत्येक नेपाली नागरिकलाई रोजगारीको हक प्रत्याभूति गराउन तोकिएको मापदण्ड पुरा गरेका नेपाली नागरिकले रोजगारीको हक सम्बन्धी नियमावली, २०७५ को नियम ७ बमोजिम आफू स्थायी बसोबास गरेको वडा कार्यालयमा वा स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमा फागुन महिना भरी आर्थिक वर्ष २०७९/०८० को लागि निवेदन माग गरेको छ ।
मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेका अनुसार बेरोजगार व्यक्ति सूचिकरण सम्बन्धी व्यवस्था अन्तर्गत १८ देखि ५९ वर्ष उमेर समूहको हुनु पर्ने, निवेदन दिँदाको मितिसम्म सोही आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारमा संलग्न नभएको हुनु पर्ने, स्वरोजगारमा संलग्न व्यक्तिको हकमा निवेदन दिँदाको मितिसम्म सोही आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारी वापत प्राप्त गर्ने नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक बराबरको आय ५७ हजार सात सय भन्दा कम हुनु पर्ने मापदण्ड तोकेको छ ।
सूचीकरणका लागि रितपूर्वक प्राप्त आवेदनलाई वडा कार्यालयले छानविन गरी बेरोजगार ठहर हुने सबै मापदण्ड पूरा गरेको प्रमाणित गर्नु पर्ने, प्राप्त प्रमाणित निवेदनलाई स्थानीय निर्देशक समितिले थप छानविन गरी बेरोजगार व्यक्तिको अन्तिम सूची गाउँ कार्यपालिका र नगर कार्यपालिकाबाट स्वीकृतिको लागि सिफारिस गर्नु पर्ने, कार्यपालिकाले आवश्यक भए थप परिमार्जन समेत गरी बेरोजगार व्यक्तिको अन्तिम सूची स्वीकृत गर्नु पर्ने प्रक्रिया तोकेको छ ।
कमेन्ट गर्नुहोस्