
२०७८ फागुन १३, तिलोत्तमा सिटी । नेपाली चलचित्र ‘म यस्तो गीत गाउँछु २’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । कोरोना महामारीका कारण पटक-पटक प्रदर्शन नभएको चलचित्रले निर्माण सकिएको २ वर्षपछि प्रदर्शनको अवसर पाएको हो । सुख्खा भएका हलहरुमा दर्शक फर्काउने आश गरिएको छ । हलिउड फिल्म ‘अनचार्टेड’, बलिउड फिल्म ‘गंगुबाई काठियावाडी’ र साउथको हिन्दी डब ‘भलीमई’ का बावजूद पनि फिल्मले काठमाडौंसहित मोफसलका मल्टीप्लेक्सहरुमा ठूलो शो पाएको छ । नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले फिल्मलाई शुक्रवार २५ शो र शनिवार २७ शो बाँडेको छ । साँझसम्म शनिवारका लागि थप शो बढ्ने निर्माण टिमको विश्वास छ ।
फागुन १७ गते महाशिवरात्री र १९ गते ग्याल्पो ल्होछारको सार्वजनिक विदा भएकाले यसको फाइदा फिल्मले राम्रैसँग उठाउने देखिन्छ । सार्वजनिक विदामा आश गरिएका फिल्मको व्यापारमा उछाल आएको धेरै उदाहरण छन् । बुधवार राजधानीमा भएको प्रिमियरमा वाहवाही बटुलेको फिल्मले एक सुपरस्टार गायक र एक नवोदित गायिकाबीचको प्रेमकथा भन्छ । सुदर्शन थापा निर्देशित फिल्ममा पल शाह, पूजा शर्मा, हरिहर अधिकारी, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकाय लगायतको मुख्य भूमिका छ । सञ्जय लामाको छायांकन रहेको फिल्मको गीतमा अर्जुन पोखरेलको संगीत छ ।
कमेन्ट गर्नुहोस्