
२०७८ फागुन १०,तिलोत्तमा सिटी। नेपाली चलचित्र ‘हनी बनी’ मा अभिनेता अनमोल केसी र अभिनेत्री सारा सिर्पालीले पहिलो पटक एकसाथ अभिनय गर्न लागेको खबर सार्वजनिक भएको थियो । सोमवार निर्माण टिमले सारासँग कागजी सम्झौता गरेको छ । अनमोल भने गत महिना नै फिल्ममा अनुबन्धित भइसकेका छन् ।
निर्देशक दीवाकर भट्टराईले फिल्मको चरित्रमा फिट हुने भएकै कारण सारालाई अनुबन्ध गरेको जानकारी दिए । फिल्ममा उनी यूकेमा बस्ने नेपाली युवतीको भूमिकामा प्रस्तुत हुने बताइएको छ । निर्देशक भट्टराईकी श्रीमती तथा अभिनेत्री दीपिका प्रसाईंले सारालाई ‘हनी बनी’ अफर गरेकी थिइन् । स्क्रिप्ट र आफ्नो चरित्र मन परेपछि साराले फिल्म साइन गरेको जानकारी प्राप्त छ ।
फिल्ममा अनमोल र सारासँगै सलोन बस्नेतको पनि अभिनय रहनेछ । आगामी मार्च (चैत) बाट छायांकनमा निस्कने फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गर्नेछन् । ७ करोड लागत अनुमान गरिएको फिल्ममा सलोन बस्नेतको पनि मुख्य भूमिका रहनेछ । यूकेमा छायांकन हुने फिल्ममा अमित बस्नेत, अजितकुमार थापा र परी राना निर्माता र अंकित गौतम कार्यकारी निर्मातामा छन् ।
कमेन्ट गर्नुहोस्