
२०७८ फागुन ३, तिलोत्तमा सिटी। बैवाहिक बलात्कारका आरोपित एक व्यक्तिलाई उच्च अदालत दिपायलले तीन बर्ष ६ महिना कैद सजाय सुनाएको छ ।गर्भवती श्रीमतीलाई कुटपिट र यातना दिई बलात्कार गरेको अभियोगमा सोमबार उच्च अदालत दिपायलले अछामका २५ वर्षका युवकलाई तीन वर्ष ६ महिना कैदको फैसला गरेको हो ।अछामकी एक महिलाले श्रीमान्ले बहुबिवाह गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । सो अभियोगमा जिल्ला अदालतले श्रीमानलाई धरौटीमा छाडेको थियो । त्यसपछि श्रीमानले आफूविरुद्ध मुद्धा गरेको आक्रोशमा ‘तेरो जिन्दगी बर्बाद बनाएर छाड्छु’ भन्दै शारीरिक र मानसिक यातना दिन सुरु गरेका पीडितको भनाइ छ ।
त्यसै क्रममा २०७७ असोज २३ गते सुतिरहेको अवस्थामा आफूलाई बलात्कार गरेको भन्दै महिलाले श्रीमानविरुद्ध जाहेरी दिएकी थिइन् ।जिल्ला अदालत अछाममा पीडितका साक्षीका रुपमा छिमेकीहरुले जबर्जस्ती करणी भएपछि गुहार मागेको भनी वयान दिएका थिए । तर युवकले भने सहमतिमै यौन सम्पर्क गरेको बयान दिएका थिए ।०७७ माघ २६ गते जिल्ला अदालत अछामले पीडितले जबर्जस्ती करणी गरेको भन्ने बकपत्र गरे पनि जबर्जस्ती करणीको कसूर स्थापित हुने प्रमाण नरहेको भनी पीडितका श्रीमानलाई सफाइ दिएको थियो ।
सोमबार उच्च अदालत दिपायलका का.मु.मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश जगतबहादुर थापाको इजलासले जिल्ला अदालतको उक्त फैसला उल्ट्याउँदै गर्भवती श्रीमतीलाई बहुविवाहको उजूरी दिएको रिसको झोंकमा कुटपिट गरी यातना दिई जबरजस्ती करणी गरेको तथ्य जाहेरी दरखास्त, पीडित र साक्षीको बकपत्र एवं शारीरिक परीक्षण लगायतका प्रमाणबाट पुष्टि भएको भन्दै कैदको फैसला गरेको हो ।विद्यमान कानून अनुसार एउटा कसूर गरी सजाय पाएकोमा कुनै व्यक्तिले पुनः अर्को कसूर गरेमा पछिल्लो पटक गरेको सजायको दोब्बरसम्म थप सजाय हुने भएकोले यस मुद्दामा तीन बर्ष ६ महिना कैद तोकिएको उच्च अदालत दिपायलले जानकारी दिएको छ ।
कमेन्ट गर्नुहोस्