
२०७८ माघ २३ ,तिलोताम्मा सिटी। प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार नहुँदै मन्त्रालयका बोर्ड तयार गरिएको छ। मन्त्रिपरिषद् विस्तारको तयारी भएसँगै मन्त्रालय फुटाएर अलग अलग बोर्ड समेत तयार पार्न थालिएको छ।सामाजिक विकास मन्त्रालयमा रहेको संस्कृति शाखालाई पर्यटनमा मिलाइएको छ। भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पनि विभाजन गरिएको छ। सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालय फरक रहने भएपछि स्वास्थ्य मन्त्रालयको बोर्ड तयार पारेर झुण्ड्याइसकिएको छ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर तीन वटा मन्त्रालय बनाइएको छ। उद्योग, श्रम तथा रोजगार मन्त्रालय, वन, वातावरण तथा भू–संरक्षण मन्त्रालय र संस्कृति तथा पर्यटन मन्त्रालय बनाइएको हो। सामाजिक विकास मन्त्रालयको श्रम तथा रोजगार शाखालाई उद्योग मन्त्रालय मातहतमा लगिएको छ। भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई कृषि तथा पशुपक्षी विकास मन्त्रालय र भौतिक पूर्वाधारबाट यातायात छुट्याएर भूमि व्यवस्था, सहकारी तथा यातायात मन्त्रालय बनाइएको छ।
मुख्यमन्त्री राईले सत्ता गठबन्धनका दलबाट ८ जनालाई मन्त्रीको शपथ ग्रहण गराउने तयारी गरेका छन्। मन्त्रिमण्डलमा नेपाली कांग्रेसबाट मोरङका शेखरचन्द्र थापा, झापाका ओम सरावगी र ताप्लेजुङका प्रताप प्रकाश हाङमाङ समावेश हुन लागेका छन्। नेकपा माओवादी केन्द्र बाट खोटाङका रामकुमार राई (पासाङ) र झापाका झलकसिं दर्लामी मन्त्री बन्दै छन्। नेकपा एकीकृत समाजवादी बाट मोरङका उपेन्द्र घिमिरे, खोटाङका राजन राई र इलामकी खिनु लङ्वा लिम्बू मन्त्री बन्ने निश्चित भएको एक नेताले बताए।
एकीकृत समाजवादीका राईलाई सामाजिक विकास मन्त्रालय र लिम्बूलाई पर्यटन तथा संस्कृति मन्त्रालयको जिम्मेवारी दिइने स्रोतले बतायो। घिमिरेलाई भने सञ्चार तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ।माओवादीबाट राईलाई सिँचाइ, खानेपानी तथा ऊर्जा र दर्लामीलाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको जिम्मेवारी दिइने भएको छ।कांग्रेसबाट मन्त्री बनेका थापालाई वन, वातावरण तथा भूसंरक्षण, सरावगीलाई उद्योग, श्रम तथा रोजगार र हाङमाङलाई भूमि तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिन लागेको मुख्यमन्त्री कार्यालयनिकट स्रोतले जनाएको छ।
मन्त्रिपरिषद् विस्तार भएसँगै प्रदेश १ मा नेपाली कांग्रेसबाट ५, नेकपा ९एकीकृत समाजवादी० बाट मुख्यमन्त्रीसहित ४, नेकपा माओवादी केन्द्रबाट ३, जसपाबाट १ र संघीय लोकतान्त्रिक मञ्चबाट एक जना राज्य मन्त्री हुने भएका छन्।
कमेन्ट गर्नुहोस्