
२०७८ माघ १९, तिलोत्तमा सिटी।खानेपानीका स्रोत संरक्षण र मूल फुटाउने अभियान सञ्चालन गर्न खानेपानी मन्त्रालयले विशेष कार्यक्रम ल्याउन लागेको हो ।पानीको मुहान संरक्षणका लागि ओसिलो प्रदान गर्ने रुख, बिरुवासमेत रोपिनेछ भने मुहान क्षेत्रमा रहे–भएका रुख, बिरुवाको संरक्षण गर्ने नीति लिइने छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले भूकम्प, जलवायु परिवर्तनको असरलगायतका कारण पानीका स्रोत मुहान सुक्दै गएको र भूमिगत पानीको स्रोतको सतह पनि घट्दै गएकाले निकट भविष्यमै मूल फुटाउ अभियान सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।
वर्षातकाे पानी पोखरीलगायत ठूला–ठूला जलाशयमा संरक्षण कार्यक्रम सञ्चालन गरी हिउँदमा निरन्तर आपूर्तिको व्यवस्था गर्न यस्ता अभियान गर्न लागिएको जानकारी दिइएको छ । उहाँले भन्नुभयो, “दिगो विकासको लक्ष्य, २०३० हासिल गर्न गुणस्तरीय खानेपानी वितरणका लागि पानीको परीक्षणलाई व्यापकता दिइने छ, प्रशोधनयुक्त ढल प्रणालीको लागि पनि यसै वर्षबाट विशेष कार्यक्रम ल्याइने छ ।”
देशमामा आधारभूत स्वच्छ खानेपानीमा ९४ प्रतिशत जनताको पहुँच स्थापित भएको तथा खानेपानीको गुणस्तर परीक्षणलाई राष्ट्रिय अभियानका रूपमा परिचालन गर्न आवश्यक परामर्श र तयारी सुरु गरिएको मन्त्रालयमा आयोजित कार्यक्रममा जानकारी दिइयो । तराई, मधेसका विपन्न घरधुरीमा खानेपानीको व्यवस्थानका लागि भएको बजेट विनियोजन प्रभावकारीरूपमा कार्यान्वयनमा गर्ने सन्दर्भमा ‘तराई–मधेस ट्युबेल तथा स्वच्छता’ कार्यक्रमलाई प्राथमिकताकासाथ अघि बढाइएको बताइएको छ ।
हालै नारायणी, नवलपुर, भरतपुर र दाङमा सहलगानी खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न भएको मन्त्रालयले जानकारी दिएको छ । खानेपानी आयोजनामा १० देखि ३० प्रतिशत जनश्रमदान गर्नुपर्ने नीतिगत व्यवस्थाले हाल धेरै आयोजना प्रभावित भई अधुरै रहेकाले नीतिगत सुधारका लागि प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ ।
कमेन्ट गर्नुहोस्