लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ग्रामिण परिवेशमा बिकाश देखेको कोरिया

tillotmacitynews - 2022 Jan 26 12:28 PM
IMG

तिलोत्तमा सिटी,माघ ११ गते २०७८। वर्षायाममा अक्सर गाउँको बाटो हिलाम्य हुन्छ।बाटोको वरिपरि उन्यू,तितेपाती झाँगिएर झाडीमय हुन्छ।यसलाई पन्छाउने काम बर्सात सकिएपछी गरिन्छ। गाउँ,टोलको सबै मिलेर  भत्केको सिँढीमा छपनी हालेर मर्मत गरिन्छ।झाडिमय बनेको बाटो फाँडेर चिटिक्क पारिन्छ।आवतजावत गर्ने  प्रत्येक बटुवाले डोरेटो बाटोको प्रसंसा गर्दै गन्तव्यमा पुग्दछन।आजभन्दा साठी वर्ष पहिला राजा महेन्द्रले पनि इनै बाटोहरुमा पैदल हिँडेका थिए भन्ने कथन सुनिन्छ।यद्यपि अहिले त हाम्रो देशमा पनि बिकासले छलाङ मार्‍यो।मोटरबाटो बन्यो।मोटरमा चढेर आवतजावत हुन सुरु भयो।गाउँभरी बिजुलीको पोल गाडिए।झलमल्ल उज्यालो भयो।इलेक्ट्रोनिक समानहरु गाउँमा प्रयोगमा आउन थाले।चोककोकमा पसल खुले।जसको कारण नुन,मट्टीतेल लिन जाने गोरेटो बाटो एक्लिएर बिरानो भएर गयो।


हामी नेपालीहरुको सपनाको देश बनेको दक्षिण कोरियामा पनि चालीस बर्ष पहिलासम्म हाम्रै नेपालमा जस्तो गोरेटो बाटो नै हुने गर्दथ्यो।मानिसहरु पैदल हिँड्ने गर्दथे।मोटर तथा मोटरबाटो थिएन।बिजुली थिएन।राजाको दरवारमा मोटर आइपुग्दा मोटर हेर्नेको लर्को लागेको थियो भनेर सुनिन्छ।आमाको पटुका च्यातेर बाती बनाई पानसमा मट्टीतेलको प्रयोग गरेर नै अँध्यारो भगाएका थिए।ढुङ्गा माटोकै घर हुने गर्दथे।यो देशमा पनि कुनैबेला जातीप्रथा कायम थियो।माथिल्लो वर्गको घरका छाना ढुङ्गाले छाइएको हुन्थ्यो।गरिब किसानका घर कटुसको सेउलोले तथा खरले छाएका हुन्थे।गाईबस्तुलाई कुँडो पकाउने ताउलो हुँदैनथ्यो।काठ र ढुङ्गाकै डुँडको प्रयोग हुने गर्दथ्यो।धारो थिएन।खोलाको पानी पिएर जिवन गुजरा गरेका थिए।


अहिले त कोरियाले छलाङ मार्‍यो।अहिलेको कोरियालाई देख्दा पहिला यस्तो पनि थियो र जस्तो लाग्दछ।मानिसहरु पढेलेखेर शिक्षित भए।निचो उँचो भन्ने जातिप्रथा हाम्रो देश नेपालमा जस्तै  कानुनबाटै समाप्त गराए।मानवअधिकार जन्मियो।अहिले सबैलाई समताको व्यबहार गरिन्छ।घरहरु सिसाका महल भए।पस्चिमाहरुले लगाउने टाई सुट,जिन्स पायन्ट,टिसर्ट इनिहरुले पनि लगाउने भए।महङ्गो गाडी तथा  चिल्लो बाटोमा हिँड्ने भए।यो देश अहिले विकसित राष्ट्रको बिल्ला पाउन सफल भएको छ।सन्सारको श्रेष्ठ हौँ भन्ने युरोपेलीहरुले पनि कोरियाको बिकास सफलता देखेर जिब्रो टोक्ने गर्दछ्न।यो चमत्कार कसरी भयो त ?आज यहि  बिकासको छलाङको वास्तविक कहानी दक्षिण कोरियाको इतिहासको पानो बाट।



दक्षिण कोरियाको विकासको जरो भेट्टाउन हामी  सन १९४८ मा पुग्नु पर्ने हुन्छ।सन १९४८ सम्म एउटा अखण्ड कोरिया थियो।लगत्तै ठुला राष्ट्र अमेरिका र रुसको चपेटामा परेर दुई टुक्रामा विभाजन हुन पुग्यो।एउटा उत्तर कोरिया बन्यो।अर्को दक्षिण कोरिया बन्यो।तत्पश्चात दक्षिण कोरियामा नयाँ सरकारको गठन भयो।इसुङ मान भन्ने पहिलो राष्ट्रपति बने।इनले देशमा धेरै महान कार्य गरे।दक्षिण कोरियाभरी पाठशाला खोलेर हरेक जनता शिक्षित हुन आदेश दिए।माध्यमिक तहसम्मको पढाइ अनिवार्य गराए।यदि अभिभावकले आफ्ना बच्चालाई बाह्र कक्षा सम्म  नपढाएमा जरिवाना नै तिर्नु पर्ने कानुन बनाए।यसरी देशका सारा जनता साक्षर हुने अवसर मिल्यो।


बिकासको कडी पञ्चवर्षीय योजना

सन १९६१ मा नयाँ राष्ट्रपति फाकचङही भन्नेको आगमन भयो। उनले देशमा विकास गर्नको लागि पहिलो पञ्चवर्षीय योजना लागू गरे।इनले पनि उच्च शिक्षाको लागि कुना कुनामा महाविद्यालय खोले।बाटो खोलेर चारैतिर जोडे।जनतालाई जागरुक बनाउने तिरनै बढी जोड दिए।जापानसँग ऋण लिएर फलाम,मोटरकारका ठुला ठुला कारखाना खोले।शहरमा औद्योगिक क्रान्तिको सुरुवात गराए।मानिसहरुलाई रोजगार दिलाए।कोरियामा औद्योगिक क्रान्ती आएसँगै शहरमा बसोबास गर्ने मानिसको जनसंख्यामा वृद्धि भएर गयो।कृषिमा भने गिरावट आयो।रोपेको धानले पुग्न छोड्यो।कृषि क्रान्तिको आवश्यकता हुन थाल्यो।राष्ट्रपति फाकचङहीले लगत्तै गाउँको बिकासमा ध्यान दिन थाले।


तेस्रो पञ्चवर्षीय योजना गाउँ बिकासको अभियान सञ्चालन 

कुनैपनी राष्ट्र विकसित भनेर चिनिनको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार गाउँ र शहरको विकास अवस्था अनुसार एउटै धारमा बहेको हुनुपर्छ।अनि बल्ल बिकसित राष्ट्रको मान्यता पाइन्छ।यो बुझेका फाकचङ ही राष्ट्रपतिलाई गाउँको परिवर्तन गराउन ठूलो चुनौतीपुर्ण काम थियो।राज्यको ढुकुटीमा पर्याप्त पैसा थिएन।गाउँमा बस्ने मानिस एकथरी थिए भने,जङ्गलमा बस्ने अर्को जाती पनि रहिआएका थिए।साहसी राष्ट्रपतिले यसलाई सजिलै समाधान गर्न लागि परे।


विश्वबैंक संग ऋणको याचना,निरक्षरलाई साक्षर बनाउन सफल

उनले विश्वबैंकसँग ऋण मागे।विश्वबैंकले अनुदानको रुपमा सहयोग गर्‍यो।विश्वबैंकले अनुदान त दियो।तर हरेक जङ्गलमा रुख रोपेर हरियाली बनाउनु भनेर दिएको थियो।किनकी सन १९५० को युद्धले जङ्गलका रुख मासिएका थिए भने, जङ्गलमा  कथित तल्लो जाती भनिने "ह्वाछनमिन" बसोबास गर्दथे।उनिहरुले रुख काटेर काठको घर बनाएर बसोबास गर्दथे।दाउराबाटै खाना पकाइन्थ्यो।यसले गर्दा पनि जङ्गल मासिएको थियो।विश्वबैंकले दिएको अनुदान रकमबाट रुख रोपे पनि जङ्गलमा बस्नेले पुनः  काटेर समाप्त गरिदिने पक्का थियो।रुख रोप्नुको औचित्य देखिएन।तसर्थ दुरदर्शी राष्ट्रपतिले अनुदानमा आएको रकमबाट रुख रोप्ने काम गरेनन।इनले त त्यो पैसाले सिमेन्ट कारखाना र कोइला उत्पादन कारखाना स्थापित गरे।


तत्पश्चात राष्ट्रपति आफु स्वयं जङ्गल गएर त्यहाँ बसोबास गर्नेलाई शहरमा झरेर बस्न आग्रह गरे।पढेर शिक्षित हुनुपर्ने कुरा सिकाए।सबैलाई समान अधिकार दिएर जागिर दिने साथै उनिहरुका छोराछोरीलाई पढाइदिने बाचा गरे। यसरी यो जातिलाई जङ्गलबाट शहर निकाल्न सफल भए।उता विश्वबैंकले दिएको अनुदानबाट खोलेको सिमेन्ट र कोइला कारखानाबाट मनग्य पैसा आम्दानी हुन सुरुवात भयो।काठको सट्टामा ढुङ्गा र सिमेन्टको प्रयोग हुन थाल्यो।जङ्गलमा बसेर रुख मासेर घर बनाउनेलाई शहरमा बसाइँसराइ गराएर शिक्षित भएपछी बल्ल रुख रोप्न थालियो।वृक्षारोपण अभियान सन १९८० सम्म चल्यो।कोरियामा हरियाली आयो।पहिरो जान बन्द भयो।बर्षात समयमा हुन थाल्यो।आज कोरियाको हरेक उपवन,पहाडमा ठडिएका विशाल रुख त्यहिबेला रोपिएका रुखहरु हुन।


गाउँ बिकासको मुख्य अभियान (१९७०)

जङ्गलमा बस्ने जातिलाई शहरमा बसाइँसराइ गराएपछी गाउँको बिकासमा जोड दिन सुरु गरियो।त्योबेला जातीप्रथा कानुनबाट हटेपनी मानिसको मस्तिष्कमा भने पेशा जातिको आधारमा हुनुपर्छ भन्ने सोच कुनाकाप्चामा जिवित थियो।यो चुनौतिलाई पनि इ राष्ट्रपतिले सजिलै समाधान गर्न तल्लिन भए। इतिहास अनुसार त्योबेला कोरियामा पैंतीस हजार गाउँ थिए।गाउँमा ८० प्रतिशत घर खर र सेउलोले छाएका थिए।२० प्रतिशत मात्र धनिका घर थिए जुन खपेटा र ढुङ्गाले छाएका हुन्थे।फाकचङही राष्ट्रपतिले हरेक गाउँमा गएर " हामी सारा जनता शिक्षित हुनुपर्छ।हामी साराले शान्ती र समृद्धि पाउनु पर्छ।हामी पनि सुखले बाँचौँ।"भनेर अनुरोधको भाषण गरे।जनताको सोचमा सकारात्मक परिवर्तन आयो।


गाउँको बिकास गर्ने योजना अनुरुप हरेक गाउँमा चार सय बोराको दरले सिमेन्ट, एक एक टनको हिसाबले रड साथै जस्तापाता,इट्टा  बाँड्न लगाए।गाउँका मानिसले खरको छानो जस्तापाताले छाए।टोलको बाटो चाक्लो बनाए।सामुहिक कुवा तथा लुगा धुने स्थान बनाए।घरको बान्नो सिमेन्ट इट्टा जोडेर बनाए।हरेक गाउँमा प्राथमिक पाठशाला खोल्न लगाए।शहरबाट गाउँसम्म कच्ची मोटरबाटो खनियो।पानीबाट उत्पादन गरिएको बिजुली प्रयाप्त थिएन।शहरलाई मात्र पुग्दथ्यो।आवश्यकता नै आविष्कारको जननी हो भनेझैं आणविक भट्टीको स्थापना गरियो।यसबाट उत्पादित बिजुली गाउँमा पुर्याइयो।गाउँको बिकास अभियान सुरुवात गरेको आठ वर्षमै ९८ प्रतिशत बिजुली गाउँमा  पुग्न सफल भयो।मट्टीतेलको प्रयोग बन्द भयो।आगोमा पकाउने चलन बन्द भयो।ग्यासको प्रयोग हुन थाल्यो।मानिसहरुले गाउँमा बसेर टेलिभिजन हेर्ने दिनको सुरुवात भयो।एउटा आधुनिक गाउँको जन्म भयो।त्यतिमात्रले कहाँ पुग्थ्यो र।


बिउबिजन थन्क्याउने कोल्ड स्टोर तयार गरियो।गाउँमा नै मलको कारखाना खोलियो।तरकारी उत्पादन गर्न फिनिल हाउसको सुरुवात गरियो।माटो अनुसारको खेती गर्न तालिमको व्यवस्था गरियो।कृषि औजार कारखाना खोलियो।पशुपालन सुरुवात गराइयो।जातिको आधारमा गरिने पेशा पतन भएर गयो।सारा कुरा भेदभाव बिना गाउँमा नै उत्पादन हुन थाल्यो।शहरको उत्पादन भन्दा गाउँको उत्पादन र आयस्रोत बढी हुन थाल्यो।शहरका मानिस शहरमै आत्मनिर्भर गाउँका मानिस गाउँमै आत्मनिर्भर हुन सफल भयो।


यसरी औद्योगिक क्रान्ती र कृषि क्रान्ती एकसाथ भएर कोरिया देश आत्मनिर्भर हुन पुग्यो।यो अभियान विश्वसम्पदा सुचिमा पर्न सफल भएको छ।कोरियाको गाउँको बिकास अभियानलाई विश्वले " निउ कम्युनिटी मुबमेन्टको" (new community movement) नामले चिन्दछ।सन १९९५ मा विकसित राष्ट्रको सुचिमा परेपछी सरकारी संस्था कोइका (korea international cooperation agency ) स्थापना गर्न सफल भयो।यो अभियान कोरियाले अहिले सत्तरिवटा देशहरुमा सञ्चालन गरेको छ।हाम्रो देशमा पनि कोइका संस्था कुना कुनामा पुगेर सहयोग गरेको छ।कोरियाको पञ्चवर्षीय योजना जुन अहिले पनि यसैमा टेकेर बिकासको छलाङ लगाइरहेको छ।अझै मारोस।हामी सबैको शुभकामना।


हाम्रो प्यारो देश नेपाल

हाम्रो देश नेपालमा १०४ वर्षको जहानियाँ शासनको समाप्ति पछि २००७ सालमा प्रजातन्त्र आयो।मडारिएको कालो बादल पन्छिएर हरेकको घरको मझेरिमा घाम झुल्किए।विक्रम संवत् २०१२ सालमा टंक प्रशाद आचार्य प्रधानमन्त्री बने।उनले देशमा पञ्चवर्षीय योजना लागू गरे।हाम्रो देश नेपालमा पञ्चवर्षीय योजना लागू भएको ६६ वर्ष पूरा भएको छ।जति विकास भयो र हुँदै छ त्यसलाई उच्च सम्मान गर्दै हामी सारा नेपाली एक भएर अझै शिक्षित हुनु पर्ने बेला आएको छ।हातेमालो गरेर अझै हुने बेला आएको छ।विदेशमा भएका हामी सारा नेपाली स्वदेश फर्केर "प्रवासी नेपाली दिवस "को छुट्टी मनाउने दिन स्थापना गर्ने बेला आएको छ।हाम्रा नेपालका छोराछोरी अब कहिल्यै पनि विदेशीन नपरोस।हामी सबैको कल्याण होस।

- बिक्रम थापा ( हाल दक्षिण कोरिया )


कमेन्ट गर्नुहोस्