लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आगोले जलेर तीन जनाको मृत्यु

IMG

२०७८ पुस १ , तिलोत्तमा सिटी।  सर्लाहीमा आगोले जलेर तीन जनाको मृत्यु भएको छ । परालले बनेको घरमा गएराति ९ः१५ बजेको समयमा विद्युत् सर्ट भएर आगलागी हुँदा सर्लाहीको कविलासी नगरपालिका–७ सिरसिरया निवासी जोगी महराकी आठ वर्षीया छोरी लक्ष्मी र तीन वर्षकी छोरी सुगन्धीको जलेर मृत्यु भएको हो ।आगोले जलेर गम्भीर घाइते दुवै बालिकाको जिल्ला अस्पताल मलङ्गवामा समान्य उपचारपछि थप उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । फुसको घरमा जाडोबाट बच्न परालको ओछ्यानमा सुतेको अवस्थामा अचानक आगलागी हुँदा मृतक दुवै बालिकाको ६० देखि ७० प्रतिशत शरीर जलेको थियो ।


आगोले जलेर जोगी महरा आफैँ र उनकी पाँच वर्षीया छोरी सुधा सामान्य घाइते भएका छन् । आगलागीका कारण घरभित्र रहेका सम्पूर्ण सरसमान समेत जलेर नष्ट भएका छन् । यसैगरी सर्लाही सदरमुकाम मलङ्गवा–६ खुटौनामा आगोले जलेर एक वृद्धको मृत्यु भएको छ ।आगोले जलेर गम्भीर घाइते भएका ७० वर्षीय नसिर खाँको गए राति जिल्ला अस्पताल मलङ्गवामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । अत्यधिक मदिरा सेवन गरेका नसिर घुर ताप्ने समयमा शरीरमा आगो लागेको मृतककी पत्नी मदिना खातुनले जानकारी दिइन् । । जाडो बढेसँगै सर्लाहीमा केही दिनयता आगलागीका घटनामा वृद्धि भएको छ । 

कमेन्ट गर्नुहोस्