लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

हिमालयन शेर्पा र पुलिसको खेल बराबरीमा

IMG

२०७८ मङ्सिर २४ , तिलोत्तमा सिटी।

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितअन्तर्गत बुधबार भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीचको खेल बराबरीमा टुङ्गिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा भएको खेलमा हिमालयन शेर्पा र नेपाल पुलिस क्लबले १–१ गोलको बराबरीमा खेल्दै अङ्क बाँडेका छन् ।


खेलमा पहिलो अग्रता भने हिमालयन शेर्पाले लियो । खेलको सुरुवाती ५३औँ सेकेन्डमा कप्तान विश्वास श्रेष्ठले गोल हानेर हिमालयन शेर्पाले खेलमा पहिलो अग्रता लियो । मैदानको मध्य भागमा अलरिच सिवे र विश्वासको समन्वयमा बनेको मुभमा विश्वासको पेनाल्टी बक्सबाहिरको प्रहार पुलिसका गोलरक्षक शत्रुघनकुमार चौधरीलाई लाग्दै गोलमा परिणत भएको थियो ।


यता पुलिस क्लबले भने खेलको दोस्रो हाफमा एक गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्यायो । खेलको ६०औँ मिनेटमा रबि पासवानको पासमा सुमन लामाले करिब सिक्स यार्डबाट प्रहार गरेको बलले जाली चुम्यो ।यस बराबरीसँगै पुलिसले तीन खेलमा पाँच अङ्क जोडेको छ । अङ्कतालिकामा पुलिस चौथो स्थानमा उक्लिएको छ । त्यस्तै हिमालयन शेर्पाले तीन खेलमा दुई अङ्क जोडेको छ । हिमालयन शेर्पा लिगको १२औँ स्थानमा छ ।


कमेन्ट गर्नुहोस्