
२०७८ मङ्सिर १७ ,तिलोत्तमा सिटी।
गोला प्रणालीबाट पेशी तोक्न थालेपछि शुक्रबारदेखि सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ हुन थालेको छ । शुक्रबार न्यायाधीशहरुले मुद्दाको सुनुवाइ गरेका छन् भने कानुन व्यवसायीले पनि बहस गरेका छन् ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै गत कात्तिक ८ गतेदेखि आन्दोलनमा उत्रिएका कानुन व्यवसायीले बहस गर्न छाडेका थिए । त्यस्तै सर्वोच्च अदालतका न्यायाधीशले पनि बन्दी प्रत्यक्षीकरणबाहेकको मुद्दामा सुनुवाइ गरेका थिएनन् ।
गोला प्रणालीबाट इजलास गठन भएको तेस्रो दिनमात्र मुद्दाको सुनुवाइ हुन सकेको हो ।मंसिर १५ गतेदेखि गोला प्रणाली सुरु भए पनि कानुन व्यवसायीले प्रधानन्यायाधीशको जिम्मेवारीमा को रहेको भनी प्रश्न उठाएपछि १५ र १६ गते भने इजलास बस्न सकेको थिएन । तर कोरोना संक्रमित भई बलम्बुस्थित एपीएफ अस्पतालमा उपचाररत प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफू बिदामा नरहेको भनी न्यायाधीशहरुलाई जानकारी गराएपछि न्यायिक नेतृत्वको विषय टुंगिएको थियो ।
प्रधानन्यायाधीशको राजीनामा मागेर आन्दोलनमा रहेको नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबरा गोला प्रणालीमा सहभागी नभएकाले सेवाग्राहीको सजिलोका लागि मुद्दाको सुनुवाइमा सहयोग गरेको बताए ।‘प्रधानन्यायाधीशले गोला लिनुहुन्न, उहाँको बेन्च छैन, प्रधानन्यायाधीशको कर्तुतका कारण सेवाग्राहीलाई वञ्चित गर्नुहुन्न’ उनले भने, ‘अब साविकसरह मुद्दाको सुनुवाइ हुन्छ । त्यसमा नेपाल बारको सहमति छ ।’
शुक्रबार सर्वोच्च अदालतमा गोला प्रणालीबाट १० वटा इजलास गठन भएको छ र सबै इजलासले मुद्दाको सुनुवाइ गरेका छन् । बार अध्यक्ष श्रेष्ठले सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको प्रवेश निषेध कार्यक्रम भने जारी रहने बताए ।
कमेन्ट गर्नुहोस्