लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चिना मिलेर के गर्नु, विचार नै नमिलेपछि

IMG

२०७८ मङ्सिर ११,तिलोत्तमा सिटी। 'वैशाखमा केटी हेर्ने, मंसिरमा बिहे गर्ने। मैले उहिल्यैदेखि भन्थेँ नि मलाई त भनेकै पुग्ने भयो। उषा अस्ति काठामाडौंबाट विराटनगर आइपुगिन्। हिजो मंसिर पाँच गते इन्गेजमेन्ट। मैले त यिनलाई देखेको वैशाखमा नै हो। यिनले मलाई हिजो इन्गेजमेन्टमा नै पहिलो पटक देखेको।''देख्दै नदेखेको केटासँग उषाजीले बिहे गर्न मान्नुभयो त?' विवेक कुरा बीचमा काट्दै विवेकको साथीले मतिर हेर्दै प्रश्न गर्यो।


बुवा-ममीले हेरेपछि मलाई पुगिहाल्यो। म बिए पढ्दादेखि नै विवाहका प्रस्तावहरू आउँदा मैले बुवा-ममीलाई वचन दिएको थिएँ- हजुरहरूले जोसँग भन्नुहुन्छ म त्यही व्यक्तिसँग बिहे गर्छु तर मैले जागिर खाएर मास्टर डिग्री नसक्दासम्म हजुरहरूले मलाई यस्ता कुरा नसुनाउनू होला। त्यो दिनदेखि मलाई कहिल्यै पनि बिहेको कुरा सुनाउनु भएन। मेरो परीक्षा सकिएको दिनमा नै हो सबैकुरा भन्नुभएको।'


'उषाको परीक्षा सकिएको दिनमा नै हो मैले उसलाई पहिलो पटक फोन गरेको। घरबाट फोन नगर्नू भन्ने आदेश थियो, पढाइ डिस्टर्ब हुन्छ भनेर। हतारले इन्गेजमेन्टमा बोलाउन पाइनँ। मंसिर २४ गते बिहेमा पक्का बोलाउँछु। नरिसाओ है केटा हो, त्यसैले आज तिमीहरूलाई रेस्टुरेन्टमा मेरो हुनेवाला बुढीसँग चिनजान गर्न बोलाएको।' रिसाउँदैनौं, रिसाए पनि जन्त जान पाएपछि फकिहाल्छौं नि। ल ल विवेक बधाइ छ। यसपालिको जाडो मजाले कट्ने भयो।'

'किन यसपालि मात्र? सधैंभरिको भन् न,' विवेकले मुस्कुराउँदै भन्यो। मेरो शरीर जिङ्रिंग भयो। मलाई झनक्क रिस उठ्यो, विवेक र उसका साथीहरूका कुरा सुनेर। कति फरक रहेछ विवाहप्रति मेरो र विवेकको सोचाइमा। कति संकीर्ण सोच। सुन्न पनि घिन लाग्ने कुराहरू। हिजो इन्गेजमेन्टमा विवेकले लगाइदिएको औंठी त्यही निकालेर फाल्दिन मन लाग्यो। तर बुवा-ममीको इज्जत सम्झिएर आफूलाई सम्हालेँ।

विवेक र उसका साथीले दर्जनौं प्लेट रित्त्याइसक्दा पनि मलाई एक गिलास जुस पनि धेरै भएको थियो। कुरा सुन्दा घुट्कीपिच्छे उक्क आउँथ्यो। रेस्टुरेन्टको एक घन्टाको बसाइ मेरा लागि एक महिनाजस्तो भयो। मोबाइल, भित्तेघडी र आफ्नो हाते घडी कम्तीमा पनि १०८ पटक हेरेँ होला। विवेकले म पुर्‍याइदिन्छु भन्दै थियो तर म आफैं हिँडेरै घर आएँ।

साँझ खाना खानै मन लागेन। बुवाले रेस्टुरेन्टमा नै खाई होली र ममीले बिहेको कुराले पिर मानी भन्नुभएको होला। तर मलाई विवेकको कारणले टेन्सन भइरहको थियो। आज दिउँसो रुपाले फोन गरेर विवेकको नराम्रो बानी-व्यवहारका बारेमा बताएकी थिई। तर मैले मेरा बुवा-ममीको कानमा नपार्नू भनेर उसलाई कसम खान लगाएँ। इन्गेजमेन्ट भई त सक्यो अब परिवारको इज्जतको लागि पनि म चुप लाग्नुको विकल्प थिएन। राम्रो, धनी परिवारमा सम्बन्ध गाँसिने ‍भयो भनेर बुवा-ममी खुसी नै हुनुहुन्थ्यो।

बिहान म उठ्न पाएको थिएन लगातार फोन बज्यो। विवेकको रहेछ, उठाउनै मन लागेन। खाना खाएपछि हामी आमा-छोरी बजारतिर किनमेल गर्न गएका थियौं। एक्कासि विवेकसँग भेट भयो। सानिमाका छोरीहरूसँग किनमेल गर्न आएका रहेछन्। 'उषा मैले बिहानभरि तिमीलाई कति फोन गरेँ, फोन नै उठेन।अबदेखि त ल्यान्डलाइनमै फोन गर्नुपर्ला।' 'हुन्छ' मैले स्वीकृति सूचक टाउको हल्लाएँ।


'यी तिमीहरूकी हुनेवाला भाउजू। खासै राम्री त छैनन् तर हाम्रो उमेर, उचाइ, जातभात अझ चिना पनि सबै मिल्यो,' विवेकले मसँग उनीहरूकी बहिनीहरूसँग परिचय गराए। 'हाम्रो किनमेल सकिसक्यो हामी जान्छौं है,' विवेकसँग बिदा मागेँ। कोही पनि मान्छे राम्रो, नराम्रो हुने त हरेक व्यक्तिको हेर्ने नजरमा भर पर्छ। यदि उसलाई म राम्री लागेको थिएन भने किन इन्गेजमेन्ट गरेको? विवेकहरू आँखाबाट ओझेल परेपछि ममीसँग कराएँ। हिजोको उसको व्यवहारले मनमा परेको चोटको खाटो बस्न नपाउँदै फेरि चोट पर्‍यो। शब्द-शब्दमा अपमानित महसुस गरेँ।


'आज मंसिर ८ गते, अब १९ दिन बाँकी। अँ साँच्चै, आज बिहान विवेक बाबुले फोन गर्नुभएको थियो। विवेकको काकी-फुपूहरूले तिमीलाई भेट्न खोज्नुभएको छ रे,' बिहानको खाना खाँदै गर्दा ममीले भन्नुभयो। 

'म जान्नँ है, कसैलाई भेट्न सेट्न।'

'तँ जाने होइन क्या, यतै आउँछन् रे।'

दिउँसो ३ बजेतिर काकी र फुपूहरूसहित विवेक र उसकी आमा हाम्रो घरमा आए। म उनीहरूलाई नमस्कार गर्न बैठक कोठामा पस्न पाएको थिइनँ काकी र फुपूहरूले एकै स्वरमा 'आहा! हाम्री हुनेवाला बुहारीले लगाएको ‍औंठी कति राम्रो' भनेर कराए। आहा! हाम्री हुनेवाला बुहारीसम्म सुन्दा मख्ख परेको म, मैले लगाएको औंठी सुन्दा खिस्रिक परेँ। पुनः एकपटक अपमानित महुसुस गरेँ। 'मैले इन्गेजमेन्टमा लगाइदिएको तीन लाखको हिराको औंठी हो,' विवेकले मेरो हाततिर हेर्दै भने।

'एऽऽऽ' भन्दै विवेकका काकी, फुपूहरूले विवेकको हाततिर हेरे। '२२ क्यारेट सुनमा सामान्य पत्थर जडेको' उनीहरूको मनको प्रश्नको जवाफ मैले मुखैले दिएँ। मन नलागी-नलागी नजिकैको कुर्चीमा बसेँ।'अब सम्बन्ध जोडिएपछि उहाँहरूको आर्थिक अवस्थामा हामीले पनि सहयोग गर्नुपर्छ नि फुपू,' हाम्रो घरको छततिर रसाएको भित्ता हेर्दै विवेकले भने। 'एक तले घर यस्तै हो' ममीतिर हेर्दै विवेककी फुपूले भनिन्। ममीले टाउको निहुँराएर आफ्नै खुट्टामा हेर्नुभयो।

'छोरीको बिहेसम्म त यी सोफा पनि फेर्नुहुन्छ होला है? पुराना भइसकेछन्,' विवेककी काकीले सोधिन्। 'ममी जुरुक्क उठेर म खाजा बनाउन जान्छु है' भन्दै भान्सामा जानुभयो। एकछिनपछि ममीले खाजा लिएर आउनुभयो। 'तपाईंको घरमा काम गर्ने मान्छे कोही छैनन् र? खाजा पनि आफैं बनाउनुहुन्छ?' 

'छैनन्, हामी सबैले मिलेर घरको काम आफैं गर्छौं,' ममीले मुस्कुराउँदै भन्नुभयो। 'ए! तपाईंकी छोरीले हाम्रो घरमा निकै सुख पाउने भइन्। हाम्रोमा त कम्तीमा नि दुई जना काम गर्ने मान्छे त कहिले पनि टुट्दैनन्। एउटा भान्सामा अर्को बहिरफेर।' उनीहरूको तुच्छ कुराकानीले यिनीहरू कति बेला जालान् भएको थियो।

विवेकहरू गएको दुई घण्टापछि बुवा आउनुभयो। 'आज फर्निचर अर्डर गर्न गएको कोठाको नाप चाहिन्छ रे। भोलि तिमीहरू आमाछोरी विवेककोमा गएर कोठाको नाप पनि लिनू अनि बिहेमा के-कस्तो उपहार क-कसलाई दिनुपर्ने हो, सोको लिस्ट पनि ल्याउनू।' बुवा कोठाभित्र बस्न नपाउँदै हामीलाई भोलिको होमवर्क दिनुभयो। खाना खाइवरी हामी सबै सुत्न गयौं। मलाई पटक्कै निद्रा लागेन। राति एक्कासि ममी रोएको आवाज मेरो कानमा पर्‍यो। दौडेर ममीको कोठाको झ्यालनेर के पुगेको थिएँ 'अब इन्गेजमेन्ट भइसक्यो। रोएर के गर्ने? चुप लाग्। छोरीले सुनी भने दुःख मान्छे' भन्दै बुवाले ममीलाई सम्झाउँदै गरेको सुनेँ। आज दिउँसो विवेकको परिवारले गरेको व्यवहारको बारेमा बुवालाई आमाले रुँदै सुनाइरहनुभएको थियो।

भोलिपल्ट बिहान खाना खाइवरी बुवाले भने बमोजिम हामी आमाछोरी विवेकको घरमा गयौं। बिहे घर भएर होला पन्ध्र दिनअगाडि नै चहलपहल देखिन्थ्यो। आफन्तहरूले घर भरिभराउ थियो। इन्गेजमेन्टमा आएका टाढाका आफन्तहरू पनि बिहे सकेरै फर्कने सोचमा थिए सायद। सबैसँगको सामन्य परिचयपछि ममीले हामी त्यहाँ जानुको मुख्य कारण भन्नुभयो। विवेकले तुरुन्तै आफ्नो कोठामा गएर कोठाको नाप लिएर आए। एउटा पानामा नाप लेखेर ममीलाई दिए। विवेककी आमाले हामीले दिन पर्ने उपहारको लिस्ट दिनुभयो।

- सासू- छड्के तिलहरी र सारी 

- ससुरा- औंठी र सुट

- माइली सासू- माईली तिलहरी र सारी

- साइँली सासू- माईली तिलहरी र सारी

काकीसासू, फुपूसासू, सानिमा सासू, ससुराहरू, देवर, जेठाजु पर्नेहरू भए नभएका आफन्तलाई दिनुपर्ने उपहारको लिस्ट लामै थियो। सबै नपढिकनै त्यो लिस्ट मैले मेरो ब्यागमा राखेँ।

'हाम्रो ठूलो परिवार, इज्जत राख्नु नै पर्‍यो। ज्योतिषलाई हेराउँदा चिना ठ्याक्कै मिल्यो। उमेर पनि चार वर्ष कान्छी, उचाइ पनि चारै इन्च कम, तीन इन्चको हिल लगाए पनि फरक नपर्ने। जात, जिल्ला, भेग, प्रदेश सबै मिल्यो तर आर्थिक! अलि गाह्रो पर्ने भो, के गर्नु, हाम्रो इज्जत तपाईंको इज्जत,' विवेकका बुवाले हात मोल्दै भने। समाजमा धनी भनेर कहलिएको मान्छेको दरिद्र सोच देखेर दया लाग्यो। ममीले अब हामी घर फर्कने भनेर उठ्दै गर्दा मैले मेरो ब्यागबाट झिकेर साइन गरेको खाली चेक र लगाइरहेको औंठी झिकेर चियाको ट्रेमा राखिदिएँ।

'मैले यो हिराको औंठी लगाएको आजसम्मको भाडा कति लाग्छ चेकमा रकम भर्नुहोला। मलाई यो विवाह स्वीकार्य छैन। विवाहपछि डिभोर्स हुनुभन्दा बिहे पहिले नै छुट्टिएको राम्रो। चिना मिलेर के गर्नु, विचार नै नमिलेपछि!' ममीले हिजो राति हामीले गलत निर्णय गरेछौं भनेर रुदैँ भनेको सुनेपछि मैले आज यो निर्णय गरेँ।

'तपाईंहरू त इज्जतदार परिवार, भोलि समाजमा त्यो केटी नै चरित्रहीन रैछ हामीले नै छोडिदियौं भन्नुहुनेछ, मलाई त्यो पनि थाहा छ। तर सुनलाई कसैलाई पित्तल भन्दैमा सुनको भाउ घट्दैन।' ममीलाई अगाडि लगाएर म बाहिरिएँ। घाँटीमा अड्किएको वस्तु बाहिर निस्किएजस्तै ममीको मुहारमा चमक आयो।

कसैले बोलाएको जस्तो लाग्दै थियो। हामी आमा-छोरी पछाडि नफर्की छिटो-छिटो अगाडि बढ्यौं।

साभार  रेशा भट्टराई बाट 


कमेन्ट गर्नुहोस्