
२०७८ मङ्सिर ९ ,तिलोत्तमा सिटी ।मुलुकको औद्योगिक विकासका बाधाहरु हटाउनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । सातौं उद्योग दिवसको अवसरमा उद्योग विभागले आयोजना गरेको कार्यक्रम बोल्दै सहभागीहरुले प्रक्रियागत झमेला, कानुनी उल्झन र सहजता मात्रै खोज्दा मुलुकमा ओद्यौगिक विकासले गति लिन नसकेको बताए ।उद्योग खोल्ने र उत्पादन गरेर खाने भन्दा पनि किनेर खाने बानीको विकास अर्थतन्त्रका लागि घातक भएको भन्दै सहभागीहरुले कोभिड पछिको पुनरुत्थानमा यसलाई जोड्नु पर्ने धारणा राखे ।राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले मुलुकमा औद्योगिक विकास गर्न उद्योग सञ्चालनको वातावरण सहज बनाउनु पर्नेमा जोड दिए । पैसा र नयाँ सोच भएका मानिसलाई सजिलोसँग उद्योगमा आउन र उद्योगबाट बाहिरिन दिनु पर्ने उनले बताए । उद्योग खोल्न, बन्द गर्न र फैलाउन हात जोड्नु पर्ने, पैसा खुवाउनु पर्ने झन्झटले औद्येगिक वातावरण नबन्ने भन्दै पौडेलले प्रक्रिया सहज र सरल बनाउन सरकारले काम गर्नु पर्ने धारणा राखे ।
उत्पादनमा केन्द्रित आयातलाई निरुत्साहित गर्न नहुने भन्दै उपाध्यक्ष पौडेलले उद्योगको कच्चा पदार्थ उपलब्धता र स्वदेशी कच्चा पदार्थको प्रयोगको उद्योग फैलने वातावरण बनाउनु पर्ने बताए ।कार्यक्रममा अर्थसचिव मधुकमार मरासिनीले अर्थतन्त्रको उदारीकरणको शुरु भएपछि पनि नेपाली उद्योगले आशातित प्रगति गर्न नसकेको चिन्ता व्यक्त गरे । उद्योग र उत्पादनमा लाग्नेहरु व्यापारमा रमाउँदा काम गर्ने भन्दा पनि किनेर खाने प्रवृत्ति हाबी भएको सिचव मरासिनीको भनाइ थियो ।
‘सरकारले ब्याजमा अनुदान, स्थानीय तहमा जाने अनुदानको दायरा बढाएको छ, कोभिड पछिको तङ्ग्रिदो अर्थतन्त्रमा अब उद्योग जोड्नुपर्छ,’ सचिव मरासिनीले भने । औद्योगिक वातावरण निर्माण गर्न सरकारले सेज, औद्योगिक क्षेत्र, औद्योगिक ग्राममा लगानी बढाए पनि लगानी अनुसारको उपलब्धि नभएकामा उनले चिन्ता व्यक्त गरे। नवप्रर्वधनात्मक एवं साना तथा घरेलु उद्योगले पनि मुलुकमा ठूलो योगदान पुर्याउने भन्दै सचिव मरासिनले यसलाई रोजगारी र उत्पादनमा जोड्नु पर्नेमा जोड दिए ।
निजी क्षेत्र व्यापार भन्दा पनि उद्योग र उत्पादनमा लाग्नु पर्ने भन्दै उनले औद्योगिक वातावरण र लगानी सहजीकरणमा सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत शुसिल भट्टले उद्योग सञ्चालनको वातावरणमा केही सुधार भए पनि प्रक्रियागत झन्झट बाँकी रहेको बताए । अन्तर निकाय सहजीकरण र लगानीकर्तालाई हेर्न नजर बदल्नु पर्ने भन्दै भट्टले आधारभूत पुर्वाधार विकासमा अझै समस्या रहेको औल्याए ।कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधहरुले मुलुकमा औद्योगिक वातावण सृजना गर्न निजी क्षेत्रले यथेष्ट काम गरिरहेको तर अपेक्षअनुरुप सरकारी सहयोग नपाएको गुनासो पोखे ।नेपाल उद्योग परिसंघका कार्यबाहक अध्यक्ष कृषि प्रसाद अधिकारीले नेपाली राष्ट्रिय उत्पादन प्रवर्द्धन र सुरक्षा गर्नु सरकारले अभियान नै थाल्नु पर्ने बताए ।
मेक इन नेपाल स्वदेशी कार्यक्रम हामीले शुरु गरेका छौं । यसमा सरकारले साथ र सहयोग गर्नुपर्यो,’ अधिकारीले भने । यो अभियान अन्तर्थगत निजी क्षेत्रले कृषि, जडिबुटी, जलविद्युत, वन क्षेत्रमा लगानी वृद्धि गर्न र चाहेको भन्दै उनले यसको सुरक्षा र प्रबर्द्धनमा सरकारी साथ चाहिएको बताए ।देशको औद्यौगिक इतिहास लामो तर प्रशंसनीय नभएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका उद्योग समिति सभापति भरतराज आचार्यले उद्यमशिलता जोगाउन सरकारले काम नगरेको गुनासो गरे जपान, चीन, भारतसँगै औद्योगिक विकास शुरु भएको मुलुकको आजको हविगत दुःखद् भएको भन्दै उनले यसमा गम्भिर समीक्षाको जरुरी भएको बताए ।नेपालले परस्पर निर्भर अर्थतन्त्रको अवधारणा अबलम्बन गर्नु भन्दै उद्योग सचिव अर्जुनप्रसाद पोख्रेलले आफ्नो बिजनेश थाहा हुनु पर्नेमा निजी क्षेत्रलाई सचेत गराए ।
कमेन्ट गर्नुहोस्