लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दशैको टिकाको उत्तम साइत १० बजेर २ मिनटमा

IMG

तिलोत्तमा सिटी,२८ असोज २०७८।  असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ । घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान ८:१९ बजे विसर्जन गरिने साइत छ । विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १०:०२ बजेको साइत शुभ रहेको छ । टीका लगाउने मानिस पूर्वफर्कनुपर्ने समितिले जनाएको छ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।विजयादशमीका दिन बिहान ७:०१ बजे तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत छ । तुलजा भवानीलाई बिहान ८:३२ बजे स्थिरासन गराइने साइत पनि समितिले निकालेको छ । खड्गयात्रा पनि यसै दिन गरिने छ । आश्विन शुक्ल पूर्णिमाका दिन कात्तिक २ गते सबै बलि पूर्ति गरिन्छ । त्यसै रात कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ ।


माता दुर्गा भवानीको प्रसाद टीका र जमरा ग्रहण गर्ने उत्तम साइत बिहान १० बजेर २ मिनेट मानिएको छ ।कसैलाई दक्षिणाको तिर्सना, कसैलाई आशिषको तिर्सना । नयाँ लुगा, जुत्ता अनि नभएका आफन्तको सम्झना बिर्सना सल लल ल... सायद ! विगत, वर्तमान र भविष्यका अवयवहरूमा जुनसुकै बेला आवश्यक पर्न सक्ने माया, स्नेह, सम्मान र हौसलाको एकमुष्ठ उपहार हो दसैँ । यस वर्षको दसँैको प्रमुख टिकाको यस विशेष दिनमा स्वागत छ ।नौ दिनसम्म पूजा अर्चना गरेको जमरा अनि दही, रातो अबिर, केरा र चामलसहितको सम्मिश्रणबाट तयार पारिएको रातो बाक्लो अक्षताले निधार भरिने टीका नै विजया दशमीको महत्वपूर्ण सकल परिवार एकै ठाउँमा बसेर, घरको मूलखाँबो पूजा गरेर उमेर क्रमानुसार ठूला अनि क्रमशः सानाहरूले टीका, जमरा र आर्शिवाद थाप्ने चलन छ । उमेर पुगेका पाकाहरू साइतको टिका लगाउन आफूभन्दा ठूला मान्यजन कहाँ जाने र नभएमा आफ्नै जीवनसाथी, जीवनसंगीनी या दाजु–भाइकहाँ जाने गर्छन् ।


घरतर्फ टीका लगाउँदा शुभाशिषसहित दक्षिणा दिनुपर्ने र मामाघरमा लगाउँदा दक्षिणा पाइने चलन छ । केटाकेटीहरू टीका थापेपछि नयाँ, बास्नादार नोटहरू हात–हातमा लिएर हिँडेको दृश्य रमाइलै हुन्छ । ती नोटहरूमा लत्पतिएको अक्षताका रातो रङ्गको एक विशेष सम्झना हामीमध्ये धेरैको वालपनसँग जोडिएको छ, केही सम्झना आयो तपाईंलाई ?फूलपाती पनि भित्राइयो, महाअष्टमी र महानवमीमा माछा–मासुका अनेकन परिकारहरू पक्कै पनि बने होलान् । गज्जबको पारिवारिक माहौलमा रमाइरहेकाहरूदेखि परिवार अनि देशलाई सम्झेर परदेशमा टीका थाप्ने तयारी गरिरहनुभएको तपाईं सबैलाई विजया दशमीको दशौँ दिन अर्थात् महादशमीको शुभकामना । नेपालका सहज शहरदेखि असहज अन्कन्टार बस्तीसमेत  बिहानैदेखि एउटा फरक रौनकमा सजिएर ब्यस्त बनेको छ । केटाकेटीहरू नयाँ लुगा लगाएर यताउता दैलो–दैलो कूदिरहेका होलान् ! के बुढा, के वृद्ध अनि के तन्नेरी, सबैलाई दसँैको उर्जायुक्त रङ्गले छोएको छ ।


यो पावन पर्व हिन्दू धर्ममा मात्र सीमित नभएर एउटा सनातन चल्दै आएको पर्व हो । यसलाई बौद्ध धर्मावलम्बीहरूले समेत हर्ष र उल्लासका साथ मनाउने गरेका छन् । फरक केवल यत्ति छ कि हिन्दूहरू रातो टीका लगाएर नव दुर्गा भगवतीको पूजा अर्चना गर्ने गर्छन् भने बौद्ध अनुयायीहरू सेतो टीका लगाएर प्रज्ञाको पूजा गर्ने गर्दछन् ।घरको मूल टीका लगाएर सुसुराली, मामाघर या ठूल बा, दाजु अनि अन्य मान्यजन कहाँ पुग्ने चलन छ । आजको दिन बाटोघाटोमा टीका अनि जमरा लगाएर सपरिवार हिँडेका दृश्यले पनि हामी नेपाली पारिवारिक सौहार्द्रता र सामीप्यतामा कति विश्वास राख्छौँ भन्ने कुरालाई प्रस्ट पार्छ ।वैदिक सनातन धर्मानुयायीहरूले दसँैको आर्शिवादलाई पौराणिक पात्रहरू र तिनको महारथसँग जोडेका छन् । दशमी तिथि अर्थात् विजया दशमीको दशौं दिन अनि यसै दिनमा पर्ने यो दिन दशमी र दशहराबाट आएको शब्द हो । दशहराको अर्थ हो, दशानन् रावणको पराजय (दशानन अर्थात् दश = दस + आनन = मुख) । दशामिकै दिन दुर्गा भवानीले महिषासुर नामक असूरको वध गरेको भनेर पनि उल्लेख गरिएको छ । यी टीका, जमरा अनि रमाइलोको माहोल दैत्यहरूमाथि देवताहरूको विजय, असत्यमाथि सत्यको विजय अनि अमानवीय तत्वमाथि मानवताको विजयका रूपमा लिइन्छ ।


टीका लगाउँदा महिला र पुरुषलाई भिन्न–भिन्न आर्शिवाद दिने गरिन्छ, जसको मन्त्रोच्चारण शब्द अनि अर्थ यहाँ प्रस्तुत गर्न जाँदैछौ । वैदिक सनातन धर्मका मन्त्रहरू नेपालीमा या अन्य भाषमा त्यति छैनन् । अनेक देवी–देवतालाई पुकार गर्दा संस्कृत भाषामै भएका अनेक अर्थयुक्त मन्त्रहरू उच्चारण गर्ने गरिन्छ । आज नेपालका घर–घरमा रातो टीका, जमरा अनि यी मन्त्रहरू शब्दोचारित हुने गर्छ ।


पुरुषलाई टीका लगाइदिँदा भन्ने आशिर्वाद

आयु द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे

ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।।

सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते

विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।


यसको अर्थः

द्रोण पुत्र अस्वत्थामाको जस्तो आयु होस्, राजा दशरथको जस्तो कृति होस्, रामको जस्तो अजात शत्रुत्व हरणको क्षमता होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दूर्योधनको जस्तो मान होस् ।।सूर्य पुत्र झैँ दानी होस्, भीमको जस्तो बल होस्, युधिष्ठिर जस्तो सत्यवान होस्, विदूरको जस्तो ज्ञान होस्, नारायणको जस्तो कृति होओस् ।


महिलालाई टिका लगाइदिँदा भन्ने आशिर्वाद

जयन्ती मङ्गलाकाली,

भद्रकाली कपालिनी ।

दुर्गा क्षमा शिवाधात्री,

स्वाहा स्वधा नमोऽस्तुते ।

अर्थात् ती देवी जसले सम्पूर्ण संसारलाई नै विजय गर्न सक्ने सार्मथ्य राख्छिन् । जो हरेक अन्धकारको निदान गर्न सक्छिन् । समयको पावन्दीभन्दा पर रहेकी ती देवी जो मानव खप्परको माला लगाउँछिन् अनि हरेक प्रकारका दुखःको निदान गर्न सक्छिन् । यो जगतको रक्षा गर्ने हे देवी ! यो तिम्रो भक्तले चढाएको भक्तिलाई स्वीकार गर, हामी तिमीलाई नमन गर्दछौं ।यी शुभाशिषहरूमा व्याख्या भए झैँ हामीले सकारात्मक बाटो पछ्याउँदै उत्तरोत्तर प्रगति गर्न सकौँ । सत्य बोल्न, सत्कर्म गर्न, आदर–सम्मान गर्न कहिले नचुकौं । सम्पूर्णमा विजया दशमीको टीका, जमरा र आशिषले जीवनमा उर्जा भरोस् । सफलताका आयामहरू थपिँदै जाउन् ।


असत्यमाथि सत्य तथा अन्यायमाथि न्यायको विजयको प्रतीक यस पावन पर्व विजया दशमीको हार्दिक बधाई तथा अनेकानेक शुभकामना । सबैको शुभ होस्, मङ्गल होस् । क्रोध, लोभ, अन्याय–अत्याचार, अहंकार, दण्डहिनता, क्रुरता, भ्रष्टाचार तथा भोक र शोकले ब्याप्त अनेक रावण रूपको अन्त्य गर्न सकियोस् !ढ्याक्क जमेको दहीको चोइला चामलमा हालेर अनि अबिर हालेर मुछेर अक्षता बनाइयो त ? टीकाको दिनमा बनेका हरेक दैलो अनि संघारभित्रका अक्षताहरूमा लक्षिण बसोस्, आशिष दिने मुखमा सरस्वती बसुन् अनि तपार्इं सबैका अनुहारमा हर्षका धागाहरू बसुन् । अनेकानेक शुभकामना !! 


देवी विसर्जन

ईति सम्प्राथ्र्य देवीं तु तत उत्थापयेद् बुध ।

उत्तिष्ठ देवी चण्डेशि शुभां पूजा प्रगृह च ।।

कुरुष्व मम कल्याणमष्टाभि शक्तिभिःसह ।

गच्छ गच्छ परं स्थानं स्वस्थानं दवि चण्डिके ।।


नवरात्रिमा देवीलाई पूजा अर्चना गरिसकेपछि आज दशमीको दिन चाहिँ देवीलाई विधिपूर्वक बिर्सन गरिन्छ । पृथ्वी लोकमा गरिएको अर्चनालाई स्वीकार गर्दै देवीलाई आज आफ्नो धाममा जान गरिने आव्हान नै देवी बिसर्जन हो । नवरात्रिमा सिङारेर पूजा गरिएको देवीको मूर्तिलाई आज विधिपूर्वक बिसर्जन गरिन्छ । आजका दिन बिसर्जन गरिएको मूर्तिलाई भोलि जलाशयमा बगाइने परम्परा छ ।माटो मुछेर बनाइएका देवी प्रतिमाबाहेक परम्परादेखि स्थापित धातुका मूर्ति रहेका देवी मन्दिरमा भने देवी पूजन बिसर्जन गरेर प्रसादस्वरूप जलअभिशेक र जमरा पुजारीले दर्शनार्थीलाई दिने गरिन्छ ।

कमेन्ट गर्नुहोस्