
तिलोत्तमा सिटी,२३ असोज २०७८। कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको २५ सदस्यीय मन्त्रिपरिषदमा बालकृष्ण खाँणले दोस्रो वरियता पाएका छन् ।खाँणलाई दोस्रो वरियता दिइए पनि देउवाले उपप्रधानमन्त्री भने बनाएका छैनन् । कांग्रेस प्रमुख सचेतक समेत रहेका खाँणलाई गृह मन्त्रालयको जिम्मेवारी रहेको छ । यसैबीच देउवा सरकारमा दोस्रो र तेस्रो वरियता काँग्रेसले नै पाएको छ । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तेस्रो वरियतामा रहेका छन् । अब प्रधानमन्त्री देउवा विदेश जाँदा वा कुनै कारणले काम गर्न असमर्थ भएर जिम्मेवारी दिनुपर्दा गृहमन्त्री खाँणले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पाउने छन् । शुक्रबार सरकारको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम मन्त्रिपरिषद् हेरफेर तथा कार्यविभाजन गरी मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन् ।
राज्यमन्त्री उमेश श्रेष्ठ प्रधानमन्त्री कार्यालयमा
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेकी हुन् ।मन्त्रिपरिषद विस्तार गर्दा प्रधानमन्त्री देउवाले केही मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री रहेका मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचनाप्रविधि मन्त्री बनेका छन् ।त्यस्तै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सारिएका छन् । मन्त्रालय भागवण्डामा स्वास्थ्य मन्त्रालय नेकपा एकीकृत समाजवादीमा परेपछि स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले प्रधानमन्त्री कार्यालयको जिम्मेवारी पाएका हुन् ।
कमेन्ट गर्नुहोस्