लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी प्रदेश मन्त्रिपरिषद बैठकमा भए ९ निर्णय

IMG

तिलोत्तमा सिटी,१४ असोज २०७८।  लुम्बिनी प्रदेश मन्त्रिपरिषद बैठकले विभिन्न ९ वटा निर्णय गरेको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद  बैठकले ९ वटा निर्णय गरेको हो । जसमा गाउँपालिका केन्द्र परिवर्तन गर्न सरकारलाई प्रस्ताव गर्नेदेखि  कानून मस्यौदा कार्यदलका सदस्यहरु नियुक्ती सम्मका निर्णय रहेका छन् ।बैठकले लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्टबाट डा.राजेन्द्र खनाललाई हटाउने निर्णय गरेको छ । उनको स्थानमा डा.इन्द्र ढकाललाई निमित्त मेसु नियुक्त गर्ने र डा. खनाललाई कोभिड अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको संयोजकको जिम्मेवारी दिइएको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बैठकपछि आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । 


यस्ता छन् बैठकले गरेका निर्णय

१. बाँके जिल्लाको बैजनाथ गाउँपालिका (साविक टिटिहरिया), रुकुम (पूर्व) जिल्लाको भूमे तथा पुथा उत्तरगंगा गाउँपालिकाका वडाहरुलाई थपघट/समायोजन गर्ने सम्बन्धमा प्राप्त प्रस्ताव नेपाल सरकारसमक्ष पठाउने ।

२.पाल्पा जिल्ला बगनासकाली गाउँपालिकाको केन्द्र परिवर्तन गर्नेसम्बन्धी प्राप्त प्रस्ताव नेपाल सरकारसमक्ष पठाउने ।

३.लुम्बिनी प्रदेशको कृषि विकास सम्बन्धी प्रादेशिक रणनीतिको मस्यौदा तर्जुमा गरी पेश गर्न कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयलाई निर्देशन दिने ।

४.लुम्बिनी प्रदेशको शिक्षासम्बन्धी प्रादेशिक नीतिको मस्यौदा तर्जुमा गरी पेश गर्न शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिने।

५.प्रादेशिक राजधानीको लागि पूर्वाधार निर्माण गर्न आवश्यक जग्गा प्राप्तिका लागि सम्बन्धित निकाय एवम् सरोकारवालाहरुसँग समन्वय र सहजीकरण गर्न पर्यटन तथा शहरी विकास मन्त्रालयका सचिवको संयोजकत्वमा एक कार्यदल गठन गर्ने ।

६.उद्यम विकास कोष सञ्चालन नियमावली (प्रथम संशोधन), २०७८ स्वीकृत गर्ने ।

७.कानून मस्यौदा कार्यदलका सदस्यहरु नियुक्त गर्ने ।

८.लुम्बिनी प्रदेशमा कोभिड–१९ महामारीको चुस्त दुरुस्त व्यवस्थापन गर्नका लागि कोभिड विशेष अस्पताल सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७८ स्वीकृत गर्ने । स्वीकृत व्यवस्थापन कार्यविधि बमोजिम कोभिड विशेष अस्पताल सञ्चालन तथा व्यवस्थापन निर्देशक समितिको संयोजकमा डा.राजेन्द्र खनाललाई र रिक्त मेसुमा डा. इन्द्र ढकाललाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त भै कामकाज गर्न तोक्ने ।

९.प्रदेश मन्त्रालय र अन्तर्गतका कार्यालयहरूको आर्थिक वर्ष २०७८/७९ को अस्थायी दरबन्दी २०७८ असोज मसान्तसम्मका लागि स्वीकृत गर्ने।

कमेन्ट गर्नुहोस्